एचपी क्यानडाविरुद्ध नेपाल दुई विकेटले विजयी, अनिलले खेले ५९ रनको अर्धशतकीय पारी

एचपी क्यानडाविरुद्ध नेपाल दुई विकेटले विजयी, अनिलले खेले ५९ रनको अर्धशतकीय पारी
फाइल तस्बिर

काठमाडौं : एकदिवसीय चौथो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको टोली एचपी क्यानडालाई नेपालले दुई विकेटले पराजित गरेको छ।

किंग सिटी मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एचपी क्यानडाले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो।

उसका लागि मिहिर पटेलले ७२ रनको अर्धशतकीय पारी खेल्दा खयर खान मोहम्मदले २८, अजयवीर सिंहले २६ र प्रवेश अहुजाले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका कुशल भुर्तेलले तीन, सागर ढकाल र करण केसीले समान दुई–दुई तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिए।

१९५ रनमो जवाफी लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि अनिल कुमार शाहले ५९ रनको अर्धशतकीय पारी खेले। ७३ बल सामना गरेका उनले पाँच चौका र तीन छक्का हिर्काए।

त्यसबाहेक आरिफ शेख ३४, कुशल मल्ल ३०, अर्जुन साउद २३ र देव खनालले ११ रन जोडे। दीपेन्द्रसिंह ऐरी ८, आशिफ शेख ७, कुशल भुर्तेल ५ रन बनाउँदा करण केसी र रिजन ढकाल विना रन आउट भए।

एचपी क्यानडाका शाहिद अजमदजाइ र सुखजिन्दर सिंहले समान तीन-तीन विकेट लिए।

नेपालले आजको खेल आशिफ शेखको कप्तानीमा खेलेको थियो। एचपी टोलीसँगको खेलमा कप्तान रोहित पौडेल र सन्दीप लामिछानेलाई आराम दिइएको छ।

योसँगै नेपालले एचपी क्यानडासँग खेलेको चार अभ्यास खेलमा तीन वटामा जित हात पारेको छ।

असोज २२, २०८१ बुधबार ०७:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।