आश्विन शुक्ल षष्ठी : भगवती कात्यायनीको पूजा अर्चना गरिँदै

आश्विन शुक्ल षष्ठी : भगवती कात्यायनीको पूजा अर्चना गरिँदै

शारदीय दुर्गापूजनोत्सवमा आज आश्विन शुक्ल षष्ठी हो। यस दिन दुर्गाका नौ शक्तिमध्ये भगवती कात्यायनीको पूजा अर्चना हुन्छ। कत नामका ऋषिको गोत्रमा जन्मेकी हुनाले यिनलाई कात्यायनी भनिएको हो। यिनको प्रादुर्भावबारे यस्तो कथा पाइन्छ-

अघि कात्यायन ऋषिले कठोर तपस्या गरेर भगवती महामायालाई प्रसन्न तुल्याए। देवी प्रकट भएपछि ऋषिले तपाईं मेरी पुत्रिका रूपमा रहनुहोस् भन्ने वर मागे। महामायाले उपयुक्त समयमा ऋषिका घरमा जन्म लिने वचन दिइन्। पछि महिषासुरले देवलोकमा आक्रमण गरेर देवताहरूका अधिकार खोस्यो। देवताहरू भगवती महामायाको शरणमा गए। उनीहरूको प्रार्थना सुनेर देवी महामायाले उनीहरूका दुःख हरण गर्ने वचन दिइन्। सोहीअनुसार आश्विन कृष्ण चतुर्दशीका दिन कात्यायन ऋषिका घरमा जन्म लिइन्। 

इन्द्रादि देवताहरूलाई देवी कात्ययनीको प्रादुर्भाव भएको कुरा थाहा थियो। उनीहरूले आश्विन शुक्ल षष्ठीका दिन देवीसामु गएर पुनः प्रार्थना गरे। कात्यायनीले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमी गरी तीन दिन कात्यायन ऋषिको पूजा ग्रहण गरिन् अनि उपयुक्त समय आएकाले देवताहरूको दिव्य तेज र शस्त्र–अस्त्र ग्रहण गरेर दशमीका दिन महिषासुरको वध गरिन्। 

अर्को प्रसंग अनुसार महिषासुरको वधका लागि इन्द्रादि देवताहरूको शक्ति एकत्रित भएर चण्डिका रूपमा देवी प्रकट भइन्। त्यसबेला सबैभन्दा पहिले कात्यायन ऋषिले यिनको पूजा गरे। त्यसै हुनाले यिनको नाम कात्यायनी रहन गयो। 

कात्यायनीको विग्रह दिव्य सौन्दर्यले युक्त छ। यिनी सुनौलो वर्णकी छन्। यिनका चार भुजा छन्। दायाँतर्फका हातमा अभयमुद्रा र वरमुद्रा छन् भने बायाँतर्फका हातमा कमलपुष्प र तरबार लिएकी छन्। यिनको वाहन सिंह हो। सप्तशतीको एघारौं अध्यायमा देवताहरूले यिनको स्तुति गरेका छन्। त्यहाँ यिनलाई तीन नेत्र भएकी, सौम्य रूपकी कात्यायनीले सबै भयबाट रक्षा गरून् भनिएको छ-

एतत्ते वदनं सौम्यं लोचनत्रयभूषितम्।
पातु नः सर्वभीतिभ्यः कात्यायनि नमोऽस्तु ते।।

द्वापरयुगमा गोपिनीहरूले कृष्णजीलाई पतिका रूपमा पाऊँ भनेर कात्यायनी व्रत गरी कात्यायनी देवीको स्तुति गरेको प्रसंग भागवत (१०/२२अध्याय)मा आउँछ। 

कात्यायनीको उपासनाबाट उपासकले शारीरिक सौन्दर्यका साथै मानसिक शान्ति प्राप्त गर्छ। मनोवाञ्छित फल दिने यी देवीको उपासनाबाट पाप नाश भएर धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थ प्राप्त गर्न सकिन्छ भन्ने पौराणिक मान्यता छ। कात्यायनीको पूजा आराधना गर्नाले अविवाहित युवतीले चाँडै सुन्दर पति प्राप्त गर्छिन् भन्ने विश्वास छ। 

पूजाविधि
नवरात्रका अघिल्ला दिनहरूमा जस्तै छैटौं दिन कात्यायनीको पूजा हुन्छ। कात्यायनीको पूजा गर्दा अरू मन्त्रका अतिरिक्त ॐ कात्यायन्यै नमः भनेर गर्न सकिन्छ। माथि उल्लेख भएको ‘एतत्ते वदनं सौम्यं...’ मन्त्रले पनि कात्यायनीको पूजा-प्रार्थना गर्न सकिन्छ। कात्यायनीको पूजा गर्दा उनको वाहन सिंह र उनका शस्त्रअस्त्रको पनि पूजा गर्नुपर्छ। 
नवरात्रको छैटौं दिनमा ७ वर्षकी कन्याको पूजा हुन्छ। छैटौं दिन पूजा गरिने कन्यालाई चण्डिकाका रूपमा पूजा गर्नुपर्छ। यिनलाई ॐ चण्डिकायै नमः, ॐ कुमार्यै नमः भनेर पूजा गर्न सकिन्छ। अन्य कर्म अरू दिनजस्तै गर्नुपर्छ। 

बिल्व-निमन्त्रण र दुर्गाबोधन
आश्विन शुक्ल षष्ठीको सायं कालमा दुर्गापूजाको अंगका रूपमा बिल्व–निमन्त्रण गरिन्छ। बिल्व–निमन्त्रण भनेको बेलपत्रलाई निमन्त्रणा गर्नु हो। कतै कतै बिल्व-निमन्त्रण पञ्चमीको साँझ पनि गर्ने चलन छ। नेपालमा भने यो काम षष्ठीकै साँझ गरिन्छ। दुर्गाको प्रिय वनस्पति भएकाले बेलपत्रलाई दुर्गाको रूप मानेर निमन्त्रणा र पूजा गरिएको देखिन्छ। सप्तमीका दिन भिœयाइने नवपत्रिकामा बेलपत्र पनि पर्ने भएकाले पनि यसलाई सम्मानपूर्वक निमन्त्रण गरेको देखिन्छ। बिल्व-निमन्त्रण र दुर्गाबोधन गरेपछि बल्ल दुर्गापूजाको विशेष विधि प्रारम्भ भएको मानिन्छ। 

दुर्गाबोधन भनेको दुर्गालाई जागा गराउने काम हो। नवरात्रको छैटौं दिन बिल्व-निमन्त्रणसँगै दुर्गाबोधन गरिन्छ। त्यसैले यो दिन दुर्गापूजनोत्सवकोे विशेष दिन हो। देवताहरूले यसै दिन महिषासुरको संहारका लागि कात्यायनीको प्रार्थना गरेको सन्दर्भ माथि उल्लेख भइसकेको छ। बंगाली समाजमा दुर्गाबोधन गरेपछि मात्र देवीको मूर्ति अनावरण गरी सर्वसाधारणका लागि दर्शन खुला गर्ने चलन छ। 

बिल्व-निमन्त्रण गर्नका लागि षष्ठीको साँझपख पूजासामग्री तयार गरी बेलको नजिक गइन्छ। त्यहाँ पूर्वाभिमुख वा उत्तराभिमुख भएर दियो बाली संकल्पपूर्वक संक्षिप्त विधिले दीप, कलश, गणेशको पूजा गरिन्छ। यसपछि ॐ बिल्ववृक्षाय नमः भनेर बेलको फेदमा पूजा गरिन्छ। अनि बेलको फेदलाई रातो कपडाले ढाकेर दुर्गा देवीको आवाहन र पूजन गरी पुष्पाञ्जलि लिएर देवीको प्रार्थना गरिन्छ। प्रार्थना गर्ने मन्त्र यो हो-

रावणस्य वधार्थाय रामस्यानुग्रहाय च।
अकाले ब्रह्मणा बोधो देव्यास्त्वयि कृतः पुरा।
अहमप्याश्विने षष्ठ्यां सायाह्ने बोधयाम्यहम्।
शक्रेणापि च सम्बोध्य प्राप्तं राज्यं सुरालये।
तस्मादहं त्वां प्रतिबोधयामि
विभूतिराज्यप्रतिपत्तिहेतोः।
यथैव रामेण हतो दशास्यः
तथैव शत्रून् विनिपातयामि।।

यति भनेर पुष्पाञ्जलि दुर्गापूजा गरेका स्थानमा (बेलका फेदमा) राखिन्छ। यही दुर्गाबोधनको विधि हो। दुर्गापूजा गरेपछि चन्दन, अक्षता, फूल लिएर बेलको प्रार्थना गरिन्छ। बेलको प्रार्थना गर्ने मन्त्र यस्तो छ-

मेरुमन्दरकैलाशहिमवच्छिखरे गिरौ।
जातः श्रीबिल्ववृक्षस्त्वमम्बिकाशिवयोः प्रियः।
श्रीशैलशिखरे जात श्रीफल श्रीनिकेतन।
नेतव्योऽसि मयाऽऽगच्छ पूज्यो दुर्गास्वरूपतः।
बिल्ववृक्ष महाभाग सदा त्वं सकलप्रियः।
गृहीत्वा तव शाखां वै देवीपूजां करोम्यहम्।
शाखाच्छेदोद्भवं दुःखं न च कार्यं त्वया विभो। 
देवैर्गृहीत्वा ते शाखां पूज्या दुर्गेति विश्रुतिः।

यसरी बेलको प्रार्थना गरेपछि सम्भव भएसम्म वायव्य वा नैऋत्यतिर फर्केको फल र पात भएको हाँगामा तेल र बेसार लगाइन्छ। यसपछि बेललाई पूजा गरेर मासचामलको बलि दिइन्छ र वरिपरि सरस्युँ छरी बेलको हाँगा मुसार्दै त्यसमा रक्षाबन्धन बाँधिन्छ। बिल्व-निमन्त्रणको प्रचलित विधि यही नै हो। 

असोज २३, २०८१ बुधबार ०७:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।