सुधीर शर्माको दुई पुस्तक : सरल भाषा तर नेपाल-चीनको अपूरो व्याख्या

सुधीर शर्माको दुई पुस्तक : सरल भाषा तर नेपाल-चीनको अपूरो व्याख्या

पहिलो- शिलापत्र, ताम्रपत्र, ताडपत्र र कागज आदिमा लेखिएका लेखोटलाई लिप्यान्तर गर्ने, अनुवाद गर्ने, व्याख्या गर्ने अनि प्राज्ञिक शैलीले लेख्ने। दोस्रो- मूलस्रोतसम्म नगई लिप्यान्तर तथा अनुवाद भइसकेका सामाग्री लिएर नयाँ व्याख्या गर्ने अनि प्राज्ञिक  शैली वा अखबारी लेखनमा व्याख्या गर्ने।

नेपालको इतिहास लेखनमा मूलतः यही दुई तरिकाले काम भएका छन्। हालसालै प्रकाशित पत्रकार सुधीर शर्माको दुई पुस्तक ‘भिक्षु,व्यापार र विद्रोह’ र ‘हिमालपारीको हुरी’ दोस्रो प्रकृतिले लेखिएको पुस्तक हो। लेखक आफैँले पनि पुस्तकको शुरूवातमै आफ्नो पुस्तक लेखन प्राज्ञिक  अनुशासन भित्र बसेर नलेखेको जनाउ दिएर यसलाई स्वीकारेका छन्।

शर्माको यसअघि नेपालमा भारतीय खुफिया एजेन्सीको चलखेलबारे प्रस्ट्याउँदै लेखेको ‘प्रयोगशाला’ किताब पढेको थिएँ। भू-राजनीतिमा लेख्न रुचाउने उनले ‘प्रयोगशाला’ पुस्तक लेख्दा दक्षिणी छिमेक भारततिर ‘फर्केका’  थिए। अहिलेका दुई पुस्तकमा उत्तरी छिमेकी चीनतिर ‘फर्केका’ छन्।

पहिलो पुस्तकको नामबाटै जाऊँ।  नेपाली समाज भारतप्रति आक्रामक अनि चीनप्रति नरम छ। यो कुरा शर्माले आफ्ना दुई पुस्तकमा धेरै ठाउँमा उल्लेख पनि गरेका छन्। दक्षिण छिमेकी भारतको हस्तक्षेपलाई ‘प्रयोगशाला’ नामकरण गरी लेखकले कडा शब्दको चयन गरेका थिए।

शर्माले सन् २००८ पछि नेपालको राजनीतिमा भारतीय शैलीमै हस्तक्षेपमा भित्रिएको प्रत्यक्ष महसुस गर्न सकिने चिनियाँको हस्तक्षेपलाई भने हुरीको संज्ञा मात्रै दिएर चीनप्रति नरम दृष्टिकोण राखेको नामबाटै प्रस्टै देखिन्छ। नाममा चयन भएको शब्द मात्रै हैन हालै प्रकाशित दुवै पुस्तकभित्रका सामग्रीले पनि त्यस्तै देखाउँछ।

शर्माका दुई पुस्तक ‘भिक्षु,व्यापार र विद्रोह’ भाग एक हो भने ‘हिमालपारिको हुरी’ भाग दुई। दुई किताब पढिसक्दा एकसरो चीन र चिनियाँलाई चिन्न सकिन्छ। सुरुमै भनेँ, शर्माको किताब पुराना पुस्तक अनि धेरै व्यक्तिहरूसँग कुराकानी गरेर लेखिएको इतिहास लेखनमा अपनाउने दोस्रो प्रकृतिको पुस्तक हो।

यी दुई पुस्तकले पत्रकारलाई भने धेरै थोक सिकाउँछ। पत्रकारले आफ्नो रुचिको क्षेत्र अनुसार विज्ञ, विभिन्न जनकारहरूसँग औपचारिक वा अनौपचारिक छलफल गरेको हुन्छ नै। ती सबैलाई समाचारमा स्थान दिन सम्भव नहुन सक्छ।

त्यसैलाई सूचना मानेर खोतल्दै गयो भने गज्जबको पुस्तक बन्छ भन्ने सन्देश म जस्तो पत्रकारितामा बामे सर्दै गरेकालाई सिकाउँछ शर्माका हालै प्रकाशित दुवै पुस्तकले। घटनाको विश्लेषण कसरी गर्ने भनेर पनि सिकाउँछ नै। सँगै, विषयमा आफ्नो वैचारिकी कसरी हाबी गराउने भन्ने पनि सिकाउँछ दुवै पुस्तकले।

अब पुस्तकतर्फ लागौँ, पहिलो मैले भाग एक मानेको ‘भिक्षु,व्यापार र विद्रोह’बारे।

नेपाली इतिहासकारलाई एउटा आरोप लाग्ने गर्छ, काठमाडौं केन्द्रित भए, काठमाडौं बाहिरलाई बिर्सिए। नेपालको इतिहास काठमाडौं केन्द्रित भएर लेखिएकाले हुन सक्छ दोस्रो सामाग्रीको भरपर्दा शर्माको पुस्तक पनि काठमाडौंमै बढी केन्द्रीत छ।

काठमाडौंको समृद्धि, काठमाडौंका शासकको तिब्बती/चिनियाँ शासकसँगको सम्बन्ध अनि व्यापारीको सम्बन्धबारे उनले ‘भिक्षु,व्यापार र विद्रोह’मा मिहीन ढङ्गले व्याख्या गरेका छन्। जसरी मूल इतिहासमा सीमा नाकाको नागरिकको तिब्बतीसँग बिहाबारी हुन्थ्यो भन्नेसम्म कुरा पाइए पनि तिब्बतीसँग अन्य कस्तो सम्बन्ध थियो खुल्दैन त्यसरी नै यो पक्ष शर्माको किताबमा पनि खुल्दैन।

ल्हासामा व्यापार गरेर फर्किएका व्यापारीसँग गरिएको कुराकानी निकै चाख लाग्दो त छ तर सीमा नाकामा रहेका  जुन समुदायको तिब्बतीसँग प्रत्यक्ष सम्बन्ध हुन्थ्यो ती समुदायको सम्बन्ध किताबमा अटाउन सकेको छैन।

पहिलो अध्याय ‘भाकोर’ शीर्षकमा छ। शर्मा आफैँ पुगेका हुनाले सोही अनुसार व्याख्या गरेका छन् उनले भाकोरबारे। ल्हासाको भाकोरमा व्यापार गर्ने काठमाडौंका नेवार पञ्चवीरले तिब्बतमा चिनियाँ दबदबा र व्यापार कसरी भयो भन्नेबारे चाखलाग्दो गरी खुलाएका छन्।

यसै अध्यायमा शर्माले राजकुमारी भृकुटी र तिब्बती राजा स्रोङ्चन गम्पोबीच राजीखुशीबाटै विवाह भएको जसरी नेपाली इतिहासमा महिमामाण्डन गरिएको आरोप लगाएका छन्। तर तिब्बती ग्रन्थ खोजेर मीनबहादुर शाक्यले लेखेको जीवनीमा करकापमा विवाह भएको उल्लेख भएको लेखेका छन्।

जबकि ज्ञानमणि नेपालको ‘नेपाल-भोटचीनसम्बन्धका केही सांस्कृतिक पक्ष’ पुस्तकमा भृकुटीको विवाह करकापमा भएको मात्रै उल्लेख छैन, तिब्बती राजा स्रोङ्चन गम्पो नेपाल नआइकन पत्रको भरमा भृकुटीलाई तिब्बत पुर्याइएर गम्पोसँग विवाह गराइएको तथ्य समेत खुल्छ।

शर्माले सन्दर्भ सामाग्रीमा नेपालको पुस्तक पनि राखेका त छन् तर यो तथ्य किन नराखीकन  नेपाली इतिहास लेखनमा लागेकालाई आरोप लगाए ? बुझिन मैले। प्रकाशित वर्षकै आधारमा हेर्ने हो भने पनि नेपालको पुस्तक सन् १९८८ मा प्रकाशित भएको हो भने शाक्यको १९९७ मा। अर्थात् झन्डै ९ वर्ष पछि।

उनले अध्याय एकमा धेरैजसो लिच्छवीकालीनदेखि काठमाडौंका नेवार व्यापारीको तिब्बतमा भएको एकाधिकारबारे मिहिन ढङ्गले विश्लेषणको प्रयास गरेका छन्।

दोस्रो अध्यायमा मल्लकाल र पृथ्वीनारायण शाहको उपत्यका विजयपछिको अवस्थालाई चित्रित गरेका छन्।  तिब्बतसँगको काठमाडौंको व्यापारलाई कब्जा जमाउन सके शाहलाई उपत्यका जित्न सजिलो हुने भएकाले नुवाकोट आक्रमण गरेको पुरानै व्याख्याहरूलाई स्थान दिएका छन् उनले पनि।

तेस्रो र चोथौँ अध्याय भने पाठकलाई रुचिपूर्ण लाग्न सक्छ। तेस्रोमा बुद्धभद्रले कसरी बौद्ध धर्म चीनमा फैलाए अनि चिनियाँ भिक्षुहरूको नेपाल हुँदै भारत जाने बाटोसँगै विद्रोही के आइ सिंहलाई चीनले दिएको स्थान  र नेपालमा चिनिया वामपन्थको व्याख्या गरेका छन्।

कुनै समय नेपालका कम्युनिष्टहरूलाई चिनियाँ र रुसी भनेर विभाजन गरिन्थ्यो। नेपालका कम्युनिस्टले बेइजिङमा पानी परे काठमाडौंमा छाता ओढ्छन् भनिन्थ्यो। तर चिनियाँ कम्युनिस्ट पार्टीसँग भने नेपालका कम्युनिस्टसँग खास सम्बन्ध थिएन, जति भारतीयसँग थियो।

नेपालका कम्युनिस्ट भन्दा नेपाली कम्युनिष्टहरूले सामन्त र निरङ्कुश ठानेको राजसंस्थालाई चिनियाँ कम्युनिस्ट पार्टीले स्थायी मित्र ठानेको र सोही अनुसार व्यवहार गरेको शर्माले पनि व्याख्या गरेका छन्। नेपाली कम्युनिष्टहरूले चीनलाई ‘तीर्थ’ नै ठाने पनि गणतन्त्र अघिसम्म चिनियाँ स्थायी सत्ताले कुनै ‘भ्यालु’ नदिएको शर्माले पुस्तकमा उल्लेख गरेको तथ्यबाट पनि पुष्टि हुन्छ।

कम्युनिस्टप्रति अतिरिक्त मोह
कान्तिपुर दैनिकमा लामो समय प्रधान सम्पादक रहेका शर्मा अहिले आफ्नै युट्युब च्यानलमा सक्रिय छन्। उनले त्यही च्यानलमा तीन महिना अघि 'बालेन किन लोकप्रिय छन्'  भन्ने विषयमा आफ्नो विश्लेषण पस्किएका थिए।

नेताहरूले बालेन शाहलाई जेल हाल्न चाहन्थे तर शीर्ष नेताहरू एक मत नभएको अनि बालेन शाहको जनमत देखेर शीर्ष नेताहरूले जेल नहालेको कारण दिएका थिए उनले। जब की यो तथ्य अर्ध सत्य थियो।

शाह पक्राउबारे शर्माले जनमत पार्टीका अध्यक्ष सिके राउतको भनाइलाई आधार बनाएका छन्। राउतले शाह पक्राउको तयारीबारे बोलेको विषय पनि सत्य नै हो। तर कान्तिपुर टिभीको सो कार्यक्रम हेर्नेलाई थाहा छ सिके राउतले वैचारिकीको भिन्नताका कारण बालेन पक्राउ नपरेको बताएका थिए।

सिंहदरबार जलाउने/ नेतालाई चोर भनेको  भन्दै फेसबुकमा लेखेको विषयमा अधिकांश नेता बालेन शाहलाई पक्राउ गर्नुपर्छ भन्नेमा एक मत देखिएको तर शेरबहादुर देउवाले 'शाहले त्यस्तो बोले पनि केही बिगार नगरेकाले बोलेकै आधारमा समाउन नहुने' अडान लिँदा बालेन पक्राउबाट जोगिएको राउतले दाबी गरेका थिए।

उनले प्रजातान्त्रिक स्कुलिङमा हुर्किएको र कम्युनिस्ट स्कुलिङमा हुर्किएको नेताबीचको वैचारिक भिन्नता देखाउने सन्दर्भमा यो प्रसङ्ग भनेको प्रष्टै देखिन्छ। सो भिडियो अहिले पनि युट्युबमा हेर्न सकिन्छ। तर शर्माले उनको कार्यक्रममा चलाखीपूर्ण तरिकाले सिके राउतको तथ्य लिँदै व्याख्या भने आफ्नै मिसाएर कम्युनिस्टप्रतिको अतिरिक्त  मोह देखाएका थिए। यी दुवै पुस्तकमा पनि उनको यो ‘कम्युनिस्टप्रतिको अतिरिक्त  मोह’ प्रस्टै देखिन्छ।

एउटा उदाहरण विसं. २०२३ सालमा चिनियाँ सांस्कृतिक क्रान्तिबारे धेरै जसो पश्चिमाले जे भाष्य बनाए नेपालमा पनि उही छ। एक थरी कम्युनिस्टहरू पश्चिमा त्यो व्याख्यामा सहमत देखिँदैनन्। एक थरी प्रजातान्त्रिकहरू भने सांस्कृतिक क्रान्तिको नाममा चीनमा धेरैको हत्या गरिएकोमा विश्वस्त छन्।

चीनबारे केन्द्रित पुस्तक लेख्दा शर्माले सांस्कृतिक क्रान्तिलाई पश्चिमा र नेपालका कम्युनिस्टले हेर्ने दुवै दृष्टिकोणलाई चिरेर नेपाली बुझाइ राख्न सक्थे। तर उनले बुद्धिजीवीलाई तारो बनाइयो मात्रै उल्लेख गरेर झारा टारे। बुद्धिजीवीलाई कसरी अनि कस्तो तारो बनाइयो भन्ने नै खुल्दैन।

हुन त यो पुस्तक चिनियाँ सांस्कृतिक क्रान्ति केन्द्रित भएर लेखिएको हैन भन्ने तर्क गर्न सकिएला। तर केही वाक्य खर्चिएको भए चिनियाँ सांस्कृतिक क्रान्तिबारे नेपालीको धारणा बुझिन्थ्यो। शर्मा यसमा चुकेको देखिन्छ।

अर्को अध्याय माओ र महेन्द्रको। यो अध्यायमा एउटा भ्रमबारे शर्माले मज्जाले चिर्ने काम गरेका छन्। सगरमाथा पूरै हाम्रो हो भन्ने पूर्व प्रधानमन्त्री वीपी कोइरालाको अडान र सगरमाथालाई पूर्व राजा महेन्द्रले आधा आधा भाग लगाएर 'शेयर' गरे पनि बीपीको तुलनामा महेन्द्र राष्ट्रवादी देखाइने वर्तमान भाष्यलाई उनले चिर्ने प्रयास गरेका छन्।

कांग्रेसी दस्ताबेजमा बीपीका यी भनाइहरू उल्लेख भए पनि उग्र राष्ट्रवादी अनि उग्र वामपन्थीले यसबारे दुष्प्रचार गर्ने क्रम अझै जारी छ। शर्माले यस विषयलाई तथ्यले चिर्ने प्रयास गरेका छन्।

छोटो समय प्रधानमन्त्री भएर पनि एक दर्जन भन्दा बढी मुलुकसँग दौत्य सम्बन्ध कायम गरेका भनी कोइरालाको प्रशंसा गरेका शर्माले महेन्द्रलाई भने शङ्काको लाभ दिँदै दुई तरीकाले विवेचना गरेका छन्। एक दृष्टिमा महेन्द्र निरङ्कुश र अधिनायकवादी शासक हुन् भने अर्कोतर्फ कूटनीतिका आर्किटेक्ट पगरी समेत गुथाइदिएका छन्, जुन उग्र वामपन्थ र उग्र राजावादीले भन्दै आएका पनि छन्।

लेखक शर्मा अझ एक तह अघि बढेर हिमालपारिको सम्बन्ध विस्तार गर्ने अहिलेको प्रयास महेन्द्रले कोरिदिएको मार्गचित्र हो भएको ठोकुवा गरेका छन् पुस्तकमा। कूटनीतिक आर्किटेक पगरी पाएका महेन्द्रले त्यही कूटनीतिक सम्बन्धलाई समृद्धिमा जोड्न सकेको भए अहिले हाम्रो स्थिति अर्कै हुने थियो होला।

तर १० वर्ष शासन सत्तामा महेन्द्रको हालीमुहाली हुँदा जनताको जीवनस्तर अझ विकासको सुचांकमा खास परिवर्तन आएको देखिँदैन। अर्को तर्क रहला, त्यही सम्बन्धकै कारण औद्योगिक क्षेत्रको विकास भएको त हो। केही उद्योग त खुले तर ती उद्योगको खर्च र आम्दानी धेरै फरक थियो। अर्थशास्त्री विश्व पौडेलकै भाषामा भन्दा '३६ सालको बजेटमा उद्योगमा सरकारको दुई अर्ब लगानी भयो तर १ करोड मात्र फर्कियो। यसरी पञ्चायतमा हिक्रिहिक्रि गरेर केही उद्योगहरू चलेको त देखिन्छ तर अर्थतन्त्रको जग बसेन।' 

२०३६ सालमा भन्दा अघि नै महेन्द्रको निधन भइसके पनि उनैले बसाएको जगले खास काम गरेको थिएन भन्ने नै देखिन्छ। राजाले अन्तर्राष्ट्रिय सम्बन्ध त विस्तार गरे तर कसका लागि? आफैँ विदेश घुम्नका लागि कि नागरिकको लागि? आफ्ना जनतालाई गुमराहमा राखेर विदेशतिरै धेरै बस्ने महेन्द्रलाई कूटनीतिक आर्किटेक भन्नुमा लेखकको दृष्टिदोष देखिन्छ।

हस्तक्षेप कि ‘हुरी’ मात्रै
हिमालको हावा चिसो हुन्छ, नेपाली इतिहासको दस्ताबेज पल्टाउँदा त्यही हिमालपारिको देश पनि व्यवहारले चिसो देखिन्छ। विभिन्न समयमा भएका 'युद्ध' मा तिब्बत अनि चीनको सहयोग माग्दा नेपाले सहयोग पाएको देखिँदैन।

धेरै वर्ष अघि मात्रै हैन, केही वर्ष अघि मात्रै पनि कोभिडको बेलामा भारतले लगाएको अघोषित नाकाबन्दीमा चीनले आफ्नो स्वार्थ हेरेको थियो। यी कुरालाई शर्माले राम्रोसँग लेखेका पनि छन्। हिमालपारिको हुरीमा विशेषतः सन् २००८ पछिका चिनियाँहरूले नेपालप्रति गरेको व्यवहारलाई मसिनो ढङ्गले केलाउने प्रयास गरेका पनि छन् ।

अध्याय सुरु हुनु भन्दा अघि 'आमुख' शीर्षकमा एक आलेख छ पुस्तकमा। सन् २००८ मा चीनमा भएको ओलम्पिकबारे व्याख्या गरेका छन्। लेखक शर्माका अनुसार ओलम्पिक '… हिजो आफूलाई 'अपमान शताब्दी' भोग्न बाध्य बनाउने कतिपय पश्चिमा मुलुकतर्फ मात्र लक्षित थिएन, एकदलीय कम्युनिस्ट अधिनायकवाद भनेर छि: छि दूर-दूर गर्नेहरूलाई आफूसँग जोड्ने प्रयत्न पनि थियो। अर्थात्, भनौँ त्यो एक हिसाबले चिनियाँ सौम्य शक्तिको अन्तर्राष्ट्रिय प्रदर्शनी थियो।'  

यो भनाइ पढ्दा शर्माले अधिनायकवादलाई समर्थन गरेको देखिन्छ। नेपालको सन्दर्भमा भने उनको विचार बाझिएको देखिन्छ। भिक्षु व्यापार र विद्रोहमा ‘...यता काठमाडौंमा पञ्चायत विरोधी जनआन्दोलन सुरु भइहाल्यो। ३० वर्षे लामो अधिनायकवादी ज्यादतीबाट जनता वाक्कदिक्क भइसकेका थिए’ लेखेका छन्।

पञ्चायतमा कतिपय अवस्थामा चीनबाट प्रभावित कार्यक्रमहरू सञ्चालन पनि भएको उल्लेख गर्ने शर्माले चीनको अधिनायकवादप्रति अलि नरम दृष्टि राख्दै नेपालको अधिनायकवादको भने कडा आलोचना गरेको देखिन्छ।

अधिनायकवाद जुनसुकै देशको होस्, आफ्नो होस् की अर्काको, जनताको मानवअधिकार कुण्ठित हुन्छन् नै। जनताको राजनीतिक अधिकार खोसिन्छ नै। चीनमा अहिले पनि मानव अधिकार अनि राजनीतिक अधिकार खोसिएकै छ। नेपालको अधिनायकवाद खराब अनि चीनको अधिनायकवाद राम्रो हुनसक्छ र!

शर्माले कतै चीन माओकालीन कम्युनिस्ट धङधङीबाट उत्रिन खोजेको भनेर 'अधिनायकवादी शासन भएको चीन' भनेर आलोचना गरेको पनि देखिन्छ। तर कतै भने अधिनायकवादी चीन भनेर अन्तर्राष्ट्रिय समुदायले चीनलाई छि : छि र दूर-दूर गरेकोमा लेखकमै 'चिन्ता' पनि देखिन्छ। चीनको शासन शैलीलाई के भन्ने भन्नेमा लेखक वैचारिक दुबिधामा रहेको किताबमा देखिन्छ।

हिमालपारिको हुरीमा शर्माले चीनले नेपाल नबुझेको व्याख्या गरेका  छन्  भने  जनताको तर्फबाट भएका आन्दोलनमा चीनले जनतालाई नभई उल्टो शासकलाई सहयोग गरेको लेखेका छन्। यसलाई बलियो बनाउन उनले विभिन्न समयमा हतियार किन्न दिएको प्रसङ्ग उल्लेख गरेका छन्।

त्यस्तै, लामो समय राजसंस्था स्थायी मित्रु हुनु, एमाले र माओवादीको एकीकरणमा चीनको प्रत्यक्ष भूमिका देखिनु, चिनियाँ राजदूतहरू नेताहरूको घरघरै पुग्ने, नेकपा फुट्न नदिन देखिने गरी नै हस्तक्षेपमा उत्रिनुलाई नेपालमा चीन पनि भारतकै तहमा उत्रेको रूपमा व्याख्या त गरेका छन् तर चीन पूरै सफल नभएको उल्लेख गरेका छन्।

यसो हुनुमा चीनले लोकतान्त्रिक संस्कार नबुझेको अनि प्रणाली भन्दा व्यक्तिमा केन्द्रित हुने उनीहरूको संस्कारले चिनियाँहरू पूर्ण रूपमा सफल हुन नसकेको लेखकको धारणा छ।

भारतले हस्तक्षेप गरे चीनले जोगाउँछ अथवा चीनले विकास गरिदिन्छ भन्ने आम अपेक्षा रहेको तर पछिल्लो समय राजमार्ग तथा विमानस्थल बनाउँदा ढिलासुस्ती र भ्रष्टाचारमा मुछिएपछि भ्रम हटेको लेखकको दाबी छ।

शर्माले पुस्तकमा चीन र भारत विकसित भए नेपाल विकास हुन सक्ने र रेल मार्गले कसरी चीन र भारतको भेट गराउने साँघु बन्न सक्छ भनी व्याख्या गरेका छन्। तर चीनबाट ‘नेपाल जाने रेल’ भन्दै फैलाएको भ्रम अनि केरुङ- काठमाडौंको असम्भव रेल परियोजनाबारे चलाइएका चर्चाभित्रको राजनीतिक स्वार्थमा लेखक शर्मा प्रवेशै गरेनन्। 

केही सय वर्ष अघि काठमाडौं विकसित हुनुमा दुई देश विकसित भएका कारण भएको र अब फेरि चक्र घुमेका कारण दुई देश विकसित बन्ने लहरमा गएकाले नेपाल 'अन्ट्रपो' बन्न सक्ने शर्माले पटक-पटक व्याख्या गरेका छन्।

त्यसका लागि नेपाली राजनीतिज्ञमा परिपक्व कूटनीतिक क्षमताको अभाव रहेको उनले उल्लेख गरेका छन्। त्यो सुधार गर्न सके नेपालको विकास टाढा नरहेको भन्दै उनी आशावादी देखिएका छन्। तर चिनियाँको व्यवहारले यो हदसम्म आशावादी भइहाल्नुपर्ने अवस्था देखाउँदैन। चीन होस् या भारत उनीहरूका लागि नेपालभन्दा उनीहरूकै स्वार्थ मुख्य हो।

भारतले चीन देखाउने अनि चीनले भारत देखाउने उनीहरूबीच स्वार्थ नमिल्दा मात्रै हो भन्ने त लिपुलेकको विवादमा चीनले खेलेको भूमिकाले नै पुष्टि गर्छ नै। त्यसैले लेखक पुस्तकमा जुन रूपमा चीनका कारण हुनसक्ने नेपालको विकासप्रति आशावादी देखिएका छन् अवस्था त्यति सकारात्मक देखिँदैन।

नेपालमा आएर काम गरेका चिनियाँ कम्पनीहरूको अपारदर्शी व्यवहार। भ्रष्ट आचरण, नेपालमा सङ्गठित अपराधमा बढ्दो चीनियाहरूको संलग्नता र चिनिया पक्षको मौनता लगायतका पक्ष लुकेका विषय हैनन्। नेपाललाई आधारभूमी बनाएर भारतीय नागरिकले फैलाएको सङ्गठित अपराधको जालो जसरी भत्किएका छन् चिनिया नागरिकले फैलाएको जालोभित्र नेपालको राज्य संयन्त्रले चियाउन समेत सकेको छैन।

‘प्रयोगशाला’ पुस्तकबाट लेखकले उनी कुन हदसम्म खुफिया सञ्जाल अनि सङ्गठित अपराधको सूचनामा पहुँच राख्छन् भन्ने पुष्टि गरिसकेका छन्। चीन र चिनिया नागरिकबाट भइरहेका उस्तै खालका गतिविधिबारे उनीसँग जानकारी छैन भनेर पत्याउने आधार देखिन्न। प्रश्न यति मात्र हो, लेखकले किन यस्तो गम्भीर विषयलाई पुस्तकमा त्यति महत्त्व दिएनन्?

चीनले दिने ऋण र गरेको पछिल्ला काम नेपालमा आलोच्य अनि शङ्कास्पद छन्। शर्माले दुवै पुस्तकमा नेपालमा उनीहरूले उत्कृष्ट काम नगरेको उल्लेख गरेका छन् तर चीन विकसित हुँदै जाँदा नेपाल पनि धनी हुने अति आशावादी व्याख्या गरेका छन्। तर कसरी ? दुवै पुस्तकबाट खुल्दैन। चीनको ऋणको फन्दाबारे पनि शर्माको पुस्तक मौन छ।

अहिले नेपालको आर्थिक अनि राजनीतिक क्षेत्रमा चिनियाँ पक्षको सक्रियता जुन रूपमा देखिइरहेको छ त्यो ‘हुरी’ मात्रै हो या ‘प्रयोगशाला!’ समयक्रमले उत्तर देला नै। तर, शर्माको पुस्तकमा यसको उत्तर छैन, मौन छन्।

अन्त्यमा,

पुराना इतिहासकारका पुस्तक पढिसकेकाहरूका हकमा शर्माका दुवै पुस्तकमा खासै नयाँ तथ्य फेला पर्दैन। तर सललल बगेको भाषाले मोहित भने बनाउँछ। मुकाम रणमैदानबाट मोहन मैनालीले इतिहास लेखनको भाषा शैलीमा ल्याउन खोजेको परिवर्तनलाई शर्माको भाषा र शैलीले थप जग हाल्छ। सहज भाषामा चीन बुझाउन शर्माको दुवै पुस्तक सफल छन्।

प्राज्ञिक लेखनको अनुशासनमा नरहेको बताएका शर्माले फुटनोट र सन्दर्भ सामाग्रीमा जे जति विषय उल्लेख गरेका छन् त्यो विवरणले लेखन कर्ममा रहेकाहरूका हकमा पढ्नु अनि पढिरहनु कति महत्त्वपूर्ण छ भन्ने सिकाउँछ पनि।

असोज २२, २०८१ मंगलबार २१:५३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।