फिल्म ‘मायाका रङहरू’बाट पनि आउट भएका हुन् पल?

फिल्म ‘मायाका रङहरू’बाट पनि आउट भएका हुन् पल?

काठमाडौँ : नाबालिग बलात्कारको मुद्दाबाट उच्च अदालतबाट सफाइ पाए पनि दर्शकबाट सफाइ पाउन नसक्दा पल शाह मुख्य भूमिकामा रहेको फिल्म रावायण फ्लप भएसँगै उनलाई अनुबन्धित गरेका फिल्म निर्माताहरू डराए।

त्यसको प्रभाव देखियो फिल्म ‘कल्ली’ मा। कल्कीमा पल अनुबन्धित भइसके पनि पछि हटाइए। कारण खुलाइएन। उनी केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रङहरू’मा अनुबन्ध भएका थिए। तर अहिले निर्माण टिमले पलको साटो ‘प्रेम गीत ३’ फ्रेम्ड मनिष राउतलाई अनुबन्ध गरेर उनैलाई प्रचार गरिरहेको छ।

के यो फिल्मबाट पनि पल निकालिएका हुन् त? निर्देशक केवल तामाङ पल शाहलाई फिल्मबाट ननिकालिएको दाबी गरे। मनिषलाई निकै अगाडि नै फिल्ममा अनुबन्ध गरेको र उनको जन्मदिन पारेर पोस्टर सार्वजनिक गरेको उनको दाबी थियो।

‘पललाई निकालेको होइन। हाम्रो त तयारी नै भइरहेको छ नि। पल शाह आउट भएको भए हामी अफिसियल नै जानकारी दिइहाल्छौ नि?’ उनले दाबी गरे।

निर्देशकले हैन भने पनि जसरी पलको साटो अर्को अभिनेतालाई निर्माण टिमले प्रमोट गरिरहेको छ त्यसले भने अर्कै सङ्केत गर्छ। तिहारपछि सुटिङमा जाने तयारी छ निर्माण टिमले। पल आउट भएका हुन् या हैनन् फिल्म फ्लोरमा जाने बेलामा खुलिहाल्छ नै।

असोज २१, २०८१ मंगलबार २१:१०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।