सिन्धुपाल्चोक पुगेर गृहमन्त्रीले भने 'सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउँछ'

सिन्धुपाल्चोक पुगेर गृहमन्त्रीले भने 'सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउँछ'

काठमाडौं : सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ। हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो।

सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिए। उनका अनुसार तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको छ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा पुगेका थिए। गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्याएको क्षतिबारे छलफल भएको थियो। 

उनीहरू सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी  क्षेत्रको अवलोकन गरेर चौतारा पुगेका हुन्। 

त्यस क्रममा सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिए। उनले सिडिओ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशनसमेत दिए। 

सिन्धुपाल्चोकमा विपद्बाट १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ।  

असोज २१, २०८१ मंगलबार १८:१३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।