नेपाली र अमेरिकी समलिंगी पुरूषबीच 'पहिलोपटक' भयो विवाह दर्ता

नेपाली र अमेरिकी समलिंगी पुरूषबीच 'पहिलोपटक' भयो विवाह दर्ता

काठमाडौं : नेपाली समलिंगी पुरूष र अमेरिकीबीच विवाह दर्ता भएको छ। नेपाली समलिंगी पुरूषले नेपालमा अमेरिकी समलिंगी पुरूषसँग विवाह दर्ता गरेको संभवत: यो पहिलो घटना हो।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालयले प्रजित बुढाथोकी र न्युयोर्क, संयुक्त राज्य अमेरिकाका जोसेफ फोस्टर एलिसलाई समलिंगी विवाह दर्ता प्रमाणपत्र दिएको छ।

विवाह प्रमाणपत्रमा दुवै जना पति उल्लेख गरिएको छ। जोसेफ र प्रजितलाई एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तले बधाई दिएका छन्। 

मायाको पहिचान नेपालको पहलमा स्थानीय निकायमा समलिंगी जोडीहरूको विवाह दर्ता हुने क्रम भइरहेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशकसमेत रहेका पन्तले जानकारी दिए।

स्थानीय निकायमा विवाह दर्ता गर्न मद्दत पन्तले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सेयर गर्दै जोसेफ र प्रजितको चाँडै विवाह उत्सव हुन गइरहेको उल्लेख गरेका छन्।

 २०८१ वैशाख  १२ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो। मायाको पहिचान नेपालको पहलमा परिपत्र जारी भएसँगै स्थानीय तहहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गर्न थालेका हुन्।

माया गुरूङ र सुरेन्द्र पाण्डे दक्षिण एसियामै पहिलो समलिङ्गी तेस्रोलिङ्गी जोडीको विवाह दर्ता गर्न सफल भएका थिए। २०८० मङ्सिर १३ मा माया र सुरेन्द्रले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विवाह दर्ता गराएका थिए।

असोज २१, २०८१ मंगलबार १७:३३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।