बाढी पहिरोको क्षतिबारे गृहको प्रतिवेदनका आधारमा सरकारले स्थानीय तहलाई बजेट दिने

बाढी पहिरोको क्षतिबारे गृहको प्रतिवेदनका आधारमा सरकारले स्थानीय तहलाई बजेट दिने

काठमाडौँ : सरकारले बाढी पहिरोबाट स्थानीय तहहरूमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको जानकारी दिए।

सरकारले ४९ स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गरेको छ। उनले यसको सङ्ख्या बढ्न सक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताए।

सोमबार बसेको मन्त्रिपरिषद्को अन्य निर्णयमा थाइल्यान्डको बैङ्कका आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने ‘ट्रान्सफर्मिङ केयर: बिल्डिङ अलाइन्स, इम्पावरिङ वुमन, रिसेपिङ इकोनोमिक्स’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीलाई सहभागी हुन स्वीकृत प्रदान गरिएको छ।    
    
 मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाका लागि दुई सय ६६ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

आगामी कात्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने ‘एक्स एक्स आइआई इन्टरनेसनल स्पोर्टस फोरम रसिया–कन्ट्री अफ स्पोर्टस’ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सहभागी हुने र आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।    

हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने, दूरसञ्चार (दशौँ संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, २०८१ कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने ‘वर्ल्ड अर्बान फोरम-१२’ सम्मेलनमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सहभागी हुन अनुमति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।    

असोज २१, २०८१ मंगलबार १७:०५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।