पूर्वअर्थसचिव रामेश्वरको अध्यक्षतामा  उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

पूर्वअर्थसचिव रामेश्वरको अध्यक्षतामा  उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ : सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञ सम्मिलित पाँच सदस्यीय   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ।    

अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको आयोगको सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहेका छन्।

अर्थ मन्त्रालयले एक सय दिनमा पूरा गर्ने कामको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरिने बुँदा पनि समावेश थियो। सोही अनुसार उक्त आयोग गठन भएको हो।

आयोगले आवश्यकताअनुसार निजी क्षेत्रलगायत अर्थतन्त्रका विविध पक्षहरूसँग परामर्श गर्नेछ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने विश्वास व्यक्त गरे।

असोज २१, २०८१ मंगलबार १६:५७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।