खानेपानीमन्त्री र सङ्घर्ष समितिबीच सहमति, मेलम्चीको पानी मङ्गलवारै काठमाडौँ आउने

खानेपानीमन्त्री र सङ्घर्ष समितिबीच सहमति, मेलम्चीको पानी मङ्गलवारै काठमाडौँ आउने

काठमाडौँ : मेलम्ची सङ्घर्ष समितिको अवरोधले काठमाडौँ आउन रोकिएको पानी मङ्गलवारबाट सुन्दरीजल आउने भएको छ। समिति र खानेपानीमन्त्री प्रदीप यादवबीचको वार्ता  सहमतिमा पुगेपछि मङ्गलवारबाटै मेलम्चीको पानी काठमाडौँको सुन्दरीजल आउने भएको हो।

मेलम्ची सङ्घर्ष समितिसँग वार्ता गर्न खानेपानीमन्त्री यादव सोमबार राति नै मेलम्ची गएका थिए। सोमबार राती भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो।

सहमतिपश्चात् मङ्गलवारै मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले बताए।

‘काठमाडौँमा मेलम्चीबाट पानी पठाउने विषयमा खानेपानीमन्त्री र सङ्घर्ष समितिबीच सहमति भएको छ। आजै मेलम्चीको पानी सुन्दरीजल ल्याउने तयारी हुँदै छ’ उनले भने।

दशैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने भन्दै मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो। वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो।

सुरुङभित्र पानी पठाएपछि पानी मङ्गलवारै काठमाडौँ आइपुगेर वितरण प्रणालीमा जोडिने कार्यकारी निर्देशक लामिछानेले बताए।
    
विसं २०७८ साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौँमा हिउँद याममा पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ।    

असोज २१, २०८१ मंगलबार १६:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।