एक वर्षसम्म पनि नहटेका जोखिमयुक्त पोलबारे प्राधिकरण बुटवल भन्छ- ‘तीन महिनाभित्र हटाइसक्छौँ’

एक वर्षसम्म पनि नहटेका जोखिमयुक्त पोलबारे प्राधिकरण बुटवल भन्छ- ‘तीन महिनाभित्र हटाइसक्छौँ’

बुटवल : बुटवलमा निर्माण सम्पन्न भएको कालिकापथ सडकमा रहेको विद्युत् पोललाई विस्थापन गरेर मोनो पोल राख्ने भनिएको एक वर्ष भइसक्दा पनि काम नै शुरू भएको छैन।

सडकका बीचमा रहेका पुराना चार खुट्टे पोललाई विस्थापित गरी एक खुट्टे (मोनोपोल) राख्न एक वर्षअघि नै काम शुरू भएको थियो।

कालिका पथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डको मध्य भागमा रहेका चार वटा विद्युत् पोलहरूको बेसमेन्ट बढी फराकिलो हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै साविकमा रहेका पोलहरूको सट्टा मोनोपोल राख्ने तय भएको थियो।

गत वर्ष पुस महिनामा विद्युत् प्राधिकरणले बुटवलको कालिकापथ सडकमा रहेको विद्युत् पोललाई विस्थापन गरेर मोनो पोल राख्न काम शुरू गरेको थियो।

विद्युत् प्राधिकरण बुटवल ग्रिडका इन्जिनियर सूर्य पाण्डेले भारतबाट पोल ल्याउनुपर्ने भएकाले काममा ढिलाइ भएको तर्क गरे। राष्ट्रिय प्रशारण लाइनको १३२ केभीए विद्युत् प्रवाह हुने उक्त पोल नेपालमा नबन्ने भएकोले भारतको राजस्थानबाट उक्त पोल ल्याउन लागिएको उनको भनाइ छ।

‘अबको तीन महिनाभित्र उत्पादकले पोल उपलब्ध गराउने वचन दिएको छ,’ उनले भने, ‘त्यसपछि हामीले मोनोपोल निर्माण गर्छौँ।’

अहिले भइरहेका प्रशारण लाइनका पोलले सडकको धेरै भाग ओगटेको र दुर्घटनाको समेत जोखिम बढेकोले मोनो पोल राख्न विद्युत् प्राधिकरणलाई नागरिक स्तरबाट समेत दबाब परेको थियो।

राष्ट्रिय प्रशारण लाइनको विद्युत् पोलहरू नेपालको कुनै पनि ठाउँमा बस्तीको बीचमा नभएको तर बुटवलमा बस्तीको बीचमा भएकोले स्थानान्तरणका लागि दबाब बढेको थियो। मोनो पोल राखिएपछि कालिका पथको सडक सुरक्षित हुने स्थानीयको विश्वास छ।

विद्युत् प्राधिकरण बुटवल ग्रिडका अनुसार मोनो पोल निर्माणका लागि विद्युत् प्राधिकरणले काठमाडौंको युनाइटेड ब्रदर्शलाई ठेक्का दिएको छ। उक्त कार्य सम्पन्न गर्न चार करोड लाग्ने बताइएको छ।

अहिले जमिनबाट तारको दुरी ५.५ मिटर छ। अब पोलको उचाइ नै ३२ मिटर हुने छ भने तारको र जमिनको बिचको दूरी नौ मिटर हुनेछ। जसले सवारी साधनको माथिल्लो भाग अग्लो भए पनि तारसँग छुने सम्भावना नहुने उनले बताए।

एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले चुनावताका नै कालिकापथमा रहेका अहिलेका चार खुट्टे विद्युतीय पोल हटाएर मोनोपोल राख्ने वाचा गरेका थिए।

बुटवलको योगीकुटीबाट मगरघाटसम्म विद्युतीय तार भूमिगत गरिने र कालिकापथमा सडकको धेरै क्षेत्राधिकार ओगटेर निर्माण गरिएका विद्युतीय पोल हटाएर त्यसका ठाउँमा मोनोपल राख्ने उनले बताएका थिए।

उनको प्रतिबद्धता अनुसार विद्युतीय मोनोपोल राख्ने भनिए पनि अझै कामले मूर्त रूप लिन सकेको छैन।

असोज २१, २०८१ मंगलबार १४:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।