डोरीले घाँटी कसेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

डोरीले घाँटी कसेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

दमौली : तनहुँको भानु नगरपालिका-१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्।

स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो।

सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका-७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पञ्चबहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशंकामा प्रहरीले खोजतलास गरेको थियो।

पञ्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ।

छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो। मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

असोज २१, २०८१ मंगलबार १३:४७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।