पीसीबी अध्यक्षले भने- ‘च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान आउनेमा विश्वस्त छु’

पीसीबी अध्यक्षले भने- ‘च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान आउनेमा विश्वस्त छु’

एजेन्सी : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नक्वीले सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि भारतले पाकिस्तान भ्रमण गर्ने विश्वास व्यक्त गरेका छन्।

च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी १९ देखि पाकिस्तानमा हुने तय भएको छ भने फाइनल खेल मार्च ९ मा हुनेछ। च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तानका तीन शहर लाहोर, कराँची र रावलपिण्डीमा हुनेछन्।

दुई देशबीच चलिरहेको राजनीतिक मतभेदका कारण भारतीय क्रिकेट टोलीले सन् २००८ देखि पाकिस्तान भ्रमण गरेको छैन।

यद्यपि नक्वी यस पटक भारत भ्रमणमा जाने र च्याम्पियन्स ट्रफी निर्धारित तालिका अनुसार नै हुनेमा आशा व्यक्त गरेका छन्। उनले आईसीसी प्रतियोगितालाई ध्यानमा राखेर रंगशाला निकै विलासी बनाइएको पनि बताए।

उनले भने, ‘भारतीय टोली आउनु पर्छ। मलाई लाग्दैन कि उनीहरूले भ्रमण रद्द वा स्थगित गर्नेछन् र मलाई विश्वास छ कि भारतसँगै हामी सबै देशहरू आयोजना गर्न जाँदैछौँ। स्टेडियमहरू पनि समयमै खेलहरू आयोजना गर्न तयार हुनेछन्। सबै स्टेडियमहरू च्याम्पियन्स ट्रफीमा एकदम नयाँ हुनेछन्।’

यद्यपि, यसअघि बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान जाने वा नजाने भन्नेबारे सरकारले निर्णय लिने बताएका थिए।

उनले भनेका थिए, ‘कुनै पनि विदेश भ्रमणमा जानुअघि सरकारको स्वीकृति लिने हाम्रो नीति हो। अब टोली जान्छ कि जाँदैन भन्ने निर्णय सरकारले गर्ने हो। हामी त्यही निर्णयलाई पालना गर्छौँ।’

नक्वीलाई अक्टोबर १६ र १६ मा पाकिस्तानको भ्रमणमा जान लागेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटबारे सोधिएको प्रश्नमा उनले भने, ‘उहाँ आउँदै हुनुहुन्छ, तर उहाँसँगको भेटबारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन।’

नक्वीले छनोट समितिलाई पूर्णकालीन कप्तान छान्न समेत निर्देशन दिएको बताएका छन्। उनले आफू वर्तमान खेलाडीहरूसँग सन्तुष्ट रहेको समेत बताएका थिए।

असोज २१, २०८१ मंगलबार १२:०१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।