छक्कापञ्जा-५ लाई नकारात्मक ट्रोल गराउन साइबर सेना परिचालन गरेका हुन् बिराजले ?

छक्कापञ्जा-५ लाई नकारात्मक ट्रोल गराउन साइबर सेना परिचालन गरेका हुन् बिराजले ?

काठमाडौँ गीत रिलिज होस् या ट्रेलर, छक्कापञ्जा ५ को सामाग्रीको तलतिर हेर्ने हो भने छपक्कै १२ गाउँको प्रचार छ। त्यही दिन ज्वाइँ साब फिल्म समेत रिलिज हुँदैछ। प्रतिक्रियामा यो पनि छुटेको देखिन्न।

सबैभन्दा धेरै बिजोग त छक्कापञ्जा ५ को ट्रेलरमै देखिन्छ। युट्युब होस् या फेसबुक, जहाँ छक्कापञ्जाका सामाग्री छन् त्यहाँ १२ गाउँ, हेर्न जाऊँ प्रतिक्रिया भइहाल्छ।

प्रतिक्रियाको एकै प्याट्रनले यो बिराज भट्ट या उनको छोरा समीरको प्रशंसकको मात्र काम हो भन्ने देखिदैन। सङ्गठित रूपमै एकै दिन रिलिज हुने फिल्मका प्रचार सामाग्रीमा गएर अन्य फिल्मलाई ह्यारेस गर्ने अभियानै चलेको देखिन्छ।

छक्कापञ्जा टिमले निर्माण गर्ने फिल्मको प्रचार सामाग्री अनि ट्रेलरबाट जुन तहको चासो निर्माण गर्न सक्थ्यो यसपालि त्यस्तो छैन। मध्यमतहको मनोटोनस कथामा फिल्म बनाए पनि दर्शकबाट राम्रै साथ पाउँदै आएको यो समूहले यस पटक एकपछि अर्को धक्का पायो। कति आफ्नै कारण, कति प्रतिस्पर्धीका कारण।

सबैभन्दा नमज्जाको धक्का फिल्म प्रमोसनका लागि सार्वजनिक गरिएका दुई गीतबाटै भयो। पहिलो गीतमा कुमारी नि हैन, बिहे भएको छैन भन्ने शब्दले धक्का पाए। नकारात्मक प्रतिक्रिया नै धेरै आए। दोस्रो गीत निकाले तर त्यो सरापे गीत भइदियो। बाल मस्तिष्कमा नराम्रो प्रभाव पार्ने शब्दहरू राखिएको गीतमा धेरै बालबालिकाहरूले टिकटक बनाए। तर टिम कमजोरी स्विकार्न तयार भएन। दीपकराजले यसको दोष उल्टो अभिभावकलाई दिएर आफ्नो प्रतिरक्षामा उत्रिए।

तेस्रो धक्का ट्रेलरबाट पायो यो टिमले। ट्रेलर अति नै फितलो बनायो। ट्रेलरले फिल्मप्रति चासो र आकर्षण हैन नकारात्मकता बढी बढायो। त्यसमा १२ गाउँको ट्रोल थपियो।

यस अगाडि पनि एकै दिन फिल्महरू जुध्ने गरेका थिए। यसरी फिल्म जुध्दा आफ्नो फिल्मको हाइप बढाउन निर्माण टिम र कलाकार सक्रिय हुने गरे पनि अर्काको प्रचार सामाग्रीमा गएर पुरै नेगेटिभ ट्रोलै हुनेगरि प्रतिक्रिया दिने गरेको देखिँदैनथ्यो। १२ गाउँको प्रचारमा भने ट्रोलकै प्रयोग भइरहेको देखिन्छ।

यसबाट छक्कापञ्जा ५ टिम हैरान देखियो। निर्माता टिमका सदस्य तथा कलाकार दीपकराज गिरीदेखि निर्मल शर्मासम्म आफ्नो फिल्मको प्रचार सामाग्रीमा आइरहेको १२ गाउँको प्रचारले हैरान देखिए। उनीहरूले सामाजिक सञ्जालमै यसबारे प्रतिक्रिया लेखिरहेका पनि छन्।

निर्मल शर्माले लेखे अरूको पोस्टहरूमा घुसेर गाली गलौच गर्ने विषाक्त मानसिकताहरूको घर परिवार सम्झेर पो दया लाग्यो! बिचराहरू कसरी झेली रहेका होलान् त्यस्तो प्रवृत्तिलाई!!

दीपकराज गिरी नकारात्मकता विरुद्ध सकारात्मकता लेख्दै बसेका छन्।

समाचारका लिङ्कदेखि अर्काको फिल्मको प्रचार सामाग्रीसम्ममा जसरी एकै शैलीमा निरन्तर १२ गाउँको प्रचार घुसेका छन् त्यसले यो स्वतःस्फूर्त हैन भन्ने देखाउँछ नै। सामाजिक सञ्जालमा चर्चित आजका बालेन शाह वा हिजोका रवि लामिछाने र केपी ओलीको पक्षमा जसरी सामाजिक सञ्जालमा नियोजित रूपमा ट्रोलरहरु सक्रिय देखिन्थे अहिले १२ गाउँको पक्षमा त्यस्तै देखिन्छ।

सार्वजनिक कार्यक्रममै निर्माता बिराजलाई सञ्चारकर्मीले फिल्मको प्रचारमा साइबर सेना प्रयोग गरेको हो भनेर सोधेका पनि थिए। तर उनले साइवर सेना शब्द नै पहिलो पटक सुनेको भनेर हास्यास्पद जवाफ दिएका थिए। तर अनजान देखिने प्रयास गरे पनि आफ्नो फिल्मको प्रचारभन्दा बलियो ब्यानरमाथि जुन रुपमा साइबर आक्रमण भइरहेको छ त्यसले नै सत्य के हो भन्ने देखाइरहेकै छ। बिराजले फिल्म प्रमोशन गर्न जुन शैली अपनाए त्यसले नेपाली फिल्म क्षेत्रमा सकारात्मक भन्दा नकारात्मक प्रवृत्ती नै बढाउँछ।

असोज २०, २०८१ सोमबार २१:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।