बाढी-पहिरो पीडितलाई दशैँमा न छाना न नाना, स्थानीयको भरमा भर्दैछन् पेट

बाढी-पहिरो पीडितलाई दशैँमा न छाना न नाना, स्थानीयको भरमा भर्दैछन् पेट

खोटाङ : दशैँ दैलौमा आइसक्यो। तर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवारलाई भोक टार्नै मुस्किल छ।

पहिरोले घरै बगाएर बासहिन भएका उनको परिवार अहिले नजिकैको चर्चमा बसिरहेको छ। असोज–१२ को पहिरोले घर बगाएपछि उनको परिवारलाई स्थानीय र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको थियो।   

अन्यत्र चाडले छपक्कै छोप्दा उनको परिवार भने अन्धकारमा छ।  अविरल वर्षासँगको पहिरोबाट विस्थापित उनको परिवारलाई नगरपालिका र वडा कार्यालयले तत्काल खाने बस्ने व्यवस्था गरिरहेको छ। घरमाथिबाट खसेको पहिरोले ढुङ्गा माटोको तीन तले घरसँगै घरका सबै सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको परिवार विस्थापित भएको हो।

असोज–१२ को पहिरोले उनको जस्तै जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने ३३ परिवार घरबारविहीन छन्। बाढी पहिरोबाट विस्थापित उनीहरूलाई सम्बन्धित स्थानीय तहले तत्कालका लागि राहत त उपलब्ध गराएको छ तर कति समय?

जिल्ला विपद् व्यवस्थापन समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार बाढी पहिरोले जिल्लामा ठुलो क्षति पुर्याएको छ।

चाडपर्व लक्षित गरेर अवरुद्ध सडकहरू पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको छ। तर, त्यो पनि दशैँअघि सञ्चालनमा आउने सम्भावना कम देखिन्छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राजकुमार राईका चार छोरा र दुई छोरी छन्। जेठा छोरा गाईघाट, जेठी छोरी धरान तथा माहिला, कान्छा छोरा र कान्छी छोरी काठमाडौँ बस्छन्। साहिला वैदेशिक रोजगारीमा छन्।

उनीहरूमध्ये कान्छोले मात्रै दशैँमा बाबुआमाको हातबाट टीका थाप्न पाउने छन्। कान्छो छोरो प्रदीप असोज–१२ गते अघि नै घर आएका थिए।

सडक तथा पुल बगाएपछि छोराछोरीहरू यस वर्ष चाड मान्न घर आउन नपाएको दीपेन्द्रले बताए। बाढी पहिरोबाट जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षति मात्र एक करोडभन्दा बढी मूल्य बराबरको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

चाडको समयमा आएको यो वर्षको बाढी पहिरोले जिल्लामा व्यापार/व्यवसायमा असर परेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए।

‘चाडपर्वको अवसरमा करोडौँको व्यापार हुनुपर्ने हो। धेरै मानिस बाटोको कारण आउनै सकेनन्। अधिकांश युवापुस्ता बाहिरी जिल्लामा बसोबास गर्छन्। घरमा बुढापाकामात्र छन्’, उनले भने, ‘शहर गएका छोराछोरी आउन नपाएपछि बुढापाकामा चाडपर्वको उमङ्ग छैन। छोराछोरी घर आउन नपाएपछि बुढापाकाले केका लागि सामान खरिद गरोस् र हाम्रो व्यापार होस्।’    

बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारको पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ।

वर्षाका कारण अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भन्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ।

असोज २०, २०८१ सोमबार २०:०५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।