प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले भने ' सुशासनमा चुनौती देखियो'

प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले भने ' सुशासनमा चुनौती देखियो'

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबारको भेटमा बाढी-पहिरोको प्रभाव र राहतबारे छलफल भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले शासन सत्तामा बस्नेहरूका लागि सुशासन, रोजगारीको चुनौती देखिएको भन्दै समाधान गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिए।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन ओली शीतल निवास पुगेका थिए। प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू  मिलेर मुलुकमा देखिएका समस्याहरूको समाधान खोज्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

गाउँ गाउँमा आधारभूत सुविधाहरू पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको हुनाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताएका थिए। राष्ट्रपति पौडेलले हालै आएको बाढी पहिरोबाट प्रभावितहरूको राहत तथा पुन निर्माणका कामलाई तीव्रता दिन  सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

भेटमा प्रधानमन्त्री ओलीले अहिलेको देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले दुई वटा ठुला दल मिलेर बनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको दाबी गरेका थिए।
सो क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराए।

महासभामा नेपालले समुद्रसतह उठेको देखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको ओलीले  बताए। प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा  विभिन्न महत्त्वपूर्ण साइडलाइन वार्ता गरेको पनि जानकारी गराएका थिए।

असोज २०, २०८१ सोमबार १९:२७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।