पनौतीको दुर्दशा हेरेर फर्किए गृहमन्त्री

पनौतीको दुर्दशा हेरेर फर्किए गृहमन्त्री

काठमाडौँ : निरन्तर परेको पानीले ल्याएको बाढी र पहिरोबाट घरबारहीन भएका काभ्रेका पनौतीवासी बिचल्लीमै छन्। बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मृत्यु, ७१ जना घाइते र ६ जना बेपत्ता भएका छन्। घाइते मध्ये १८ जनाको उपचार भइरहेको छ।

पनौती नगरपालिका-१२ भूमेडाँडा र बेथानचोक गाउँपालिका ४ चलालमा बाढी र पहिरोले गर्नुसम्म वितण्डा गरे पनि अझैँ सरकार पुगेको थिएन।

सोमबार गृहमन्त्री रमेश लेखक त्यही क्षेत्रमा पुगेर बाढी र पहिरोले ल्याएको दुर्दशा हेरेर फर्किए। बाढी-पहिरो क्षेत्रमा गएर गृहमन्त्री श्रेष्ठले डङरंग लडेका घरहरू अनि घरबारहीन भएका स्थानीयहरूसँग भलाकुसारी गरे।

बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि उनी जिल्ला प्रशासन कार्यालय काभ्रे फर्किएर बैठक गरेका थिए।

बैठकमा उनले भारी वर्षाबाट सिर्जित बाढी-पहिरोबाट जन-धनको ठुलो क्षति भएको बताउँदै सङ्घीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको दाबी गरेका थिए।

सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुने र विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी तीन वटै सरकारको रहेको उनले बताएका थिए।

विकास र विपत्तिमा राजनीति हुँदैन भन्दै उनले सबैले मिलेर काम गर्नुपर्ने र पीडामा रहेकालाई राहत दिन सबै लाग्नुपर्ने बताएका थिए। उनले अहिले पनि खोजी र उद्धारको काम जारी नै रहेको भन्दै अब सरकार राहतमा लाग्ने बताए।

उनले मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको र घरबार विहीनहरूलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको बताए।

स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनमा पहिलो किस्ता उपलब्ध गराइने र घाइतेको निःशुल्क उपचार हुने उनले बताए।

असोज २०, २०८१ सोमबार १४:३७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।