अक्सनमा अध्यक्ष चन्द नदेखिएपछि क्यानमा विवादको चर्चा, के भन्छन् पारस?

अक्सनमा अध्यक्ष चन्द नदेखिएपछि क्यानमा विवादको चर्चा, के भन्छन् पारस?

काठमाडौं : नेपाल क्रिकेट संघको आयोजनामा नेपाल प्रिमियर लिग हुँदैछ।

आइतबार लिगको अक्सन काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलमा दिउँसो २ बजेदेखि राति साढे ८ बजेसम्म भयो।

कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि विभिन्न पार्टीका सांसद, कलाकार, संगीतकर्मी र खेलाडीहरु समेत उपस्थित थिए।

तर, कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द नै देखिएका छैनन्। उनी कार्यक्रममा नदेखिए पछि क्रिकेट संघमा विवाद भएको विषय पनि उठ्यो।

यसअघि पनि अध्यक्ष र सचिवबीच विवादको प्रसङ्ग आइरहेकै थियो। यद्यपि यस विषयलाई अहिलेसम्म दुवैले ढाक्दै आएका छन्।

यद्यपि क्रिकेट संघ सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामाले भने यसको खण्डन गर्दै व्यवस्ताका कारण नआएको बताए। संघले गरेको कार्यक्रममा सबै जनाको सपोर्ट रहेको र यो निरन्तर रहने अपेक्षा समेत उनले गरे।

सचिव खड्काले भने, ‘पछिल्लो चार/पाँच महिनादेखि उहाँ यति धेरै ट्राभलमा हुनुहुन्थ्यो कि उहाँ थाक्नुभएको छ। त्यसमाथि अस्ति भर्खर वार्षिकोत्सव पनि भयो। अडिट रिपोर्ट लगायतका अन्य काम पनि गर्नुपर्ने थियो। त्यसैले पनि उहाँ नआउनु भएको हो।’

यस्तै, क्यानका प्रवक्ता छुम्बी लामाले संघले वार्षिकोत्सव सकेपछि अध्यक्ष चन्द बैतडी गएको बताए। उनले नेपाल क्रिकेट संघ एकरुपतामा बढेको भन्दै अध्यक्षको पूर्ण साथ र समर्थन रहेको बताए।

‘नेपाल क्रिकेट संघ एकरूपतामा अघि बढेको छ,’ उनले भने,  ‘अध्यक्षज्यूको पूर्ण साथ र सहयोग छ। उहाँको साथ र सहयोग विना क्रिकेट संघ अघि बढ्दैन। एनपीएल अघि बढ्दैछ।’

असोज २०, २०८१ सोमबार १२:३६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।