फिल्म चलाउन बेहुली फ्रम मेघौलीले फेसबुकमा गर्‍यो झुटो प्रचार, फिल्मै नहेरेकाको प्रतिक्रिया पनि समीक्षा रे !

फिल्म चलाउन बेहुली फ्रम मेघौलीले फेसबुकमा गर्‍यो झुटो प्रचार, फिल्मै नहेरेकाको प्रतिक्रिया पनि समीक्षा रे !

काठमाडौं : फिल्म बेहुली फ्रम मेघौलीको फेसबुक पेजमा मुभी रिभ्यु भन्दै राखिएका पोस्टहरू टन्नै भेटिन्छ। भारतदेखि नेपालसम्मबाट आएका प्रतिक्रिया हुन् ती। फिल्म हेरेका मात्रै हैन, नहेरेकाले पनि कलाकार अनि फिल्म निर्माण टिमलाई शुभकामना दिएका छन्।

स्वस्तिमा खड्काका फ्यानहरूले विशेष गरी प्रतिक्रिया दिएका छन्। यो फ्यानका प्रतिक्रियासम्म भन्न सकिन्छ। तर फिल्म निर्माण टिमले फिल्म प्रमोसनका लागि प्रतिक्रियालाई पनि मुभी रिभ्यु भन्दै भटाभट फेसबुक पेजमा दन्काइदिएका छन्।

यो भनेको त सिधै फिल्म नहेरेका दर्शकहरूलाई झुक्काउने मेलो हो। फिल्म नै नहेरेका तर स्वस्तिमाको फ्यानको प्रतिक्रियालाई पनि मुभी रिभ्यु भनेर ठोकिदिएको छ फिल्मको टिमले। यतिसम्म त नगरे हुने हो।

राजनीतिदेखि सामाजिक विकृतिसम्ममा चासो राख्दै प्रतिक्रिया दिने जोडिले त कमसेकम समीक्षा भनेको के हो अनि प्रतिक्रिया भनेको के हो बुझ्नु पर्ने हो।

शुक्रवारबाट रिलिज भएको फिल्मको प्रतिक्रिया त्यति झुर पनि छैन। दर्शक अनि समीक्षकहरूबाट राम्रै प्रतिक्रिया आइरहेकै छन्। यस्तोमा सामान्य प्रतिक्रियालाई समीक्षा भन्दै किन भ्रम छर्नु परेको होला!

समीक्षा नै चाहिएको हो भने प्रकाशित भइरहेका छन् त। राखे भइहाल्यो नि त्यही समीक्षामा प्रशंसा गरिएका अंश टक्क लिएर। तर निर्माण टिमको उद्देश्य ताली अनि गाली दुवै स्विकार्ने देखिएन। बोल्नेको पिठो बिक्छ शैलीमा भटाभट फ्यानका प्रतिक्रियालाई समीक्षा भन्दै राखिरहेका छन् फेसबुकमा।

यो पनि

भिज्योलको भाषामै सम्झाऊँ न। जसरी सर्टमुभी, फिचर फिल्म, डकुमेन्ट्री अनि टेलिसिरियलकाबीचमा भिन्नता हुन्छन्, सबै भिज्योलमा बनेका कथा फिल्म हुन सक्दैन नि, हो त्यसरी नै सबै प्रतिक्रिया समीक्षा हुन सक्दैन। जसरी फिल्म बनाउने थ्यौरी हुन्छ नि त्यसरी नै समीक्षाको पनि थ्यौरी हुन्छ।

प्रतिक्रिया, टिप्पणी, विश्लेषण अनि समीक्षा भिन्न भिन्न विधा हुन्। यसरी प्रतिक्रियालाई समीक्षा भन्दै प्रचार गर्नु भनेको टेलिफिल्मलाई फिचर फिल्म हो नि भनेर दर्शक झुक्क्याए समान हो।

तर धन देख्दा महादेवको त तीन नेत्र हुन्छ अनि निर्मात्री स्वस्तिमा खड्का र निश्चल बस्नेतको किन तीन नेत्र नहोस्। तर धनका खातिर यतिसम्म भ्रम नफैलाएको भए हुने। फिल्म त भविष्यमा पनि बनाउने नै होला।

असोज २०, २०८१ सोमबार १२:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।