तुलसी घिमिरेको ‘पहाड’मा विपिनले गाए हिन्दी र नेपाली मिसिएको र्‍याप

तुलसी घिमिरेको ‘पहाड’मा विपिनले गाए हिन्दी र नेपाली मिसिएको र्‍याप

काठमाडौं : निर्देशक तुलसी घिमिरेले बनाउन लागेको नयाँ फिल्म ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन्।

आइतबार काठमाडौंको महाराजगञ्जस्थित भेनस रेकर्डिङ स्टूडियोमा विपिनले ‘पहाड’को एक गीतमा र्याप भरेका हुन्।

तुलसी घिमिरेका ससुरा समेत रहेका वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीतमा विपिनले पहाडका लागि र्याप गीत गाएका हुन्। गीतलाई निर्देशक घिमिरेले लेखेका हुन्।

घिमिरेका अनुसार यो गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहने छ। फिल्ममा जम्म चार वटा गीत रहने छ।

आगामी तिहार लगत्तै छायाँकनमा निस्किने पहाडमा विपिन कार्की सहित मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायत चिर परिचित कलाकारहरु खेल्ने निश्चित भइसकेको छ।

यो फिल्मबाट सप्राईज रुपमा अर्का एक चलेका अभिनेता र एक नव अभिनेत्रीको आगामन पनि हुने निर्देशक घिमिरेको भनाइ छ।

५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायांकन हुने यस फिल्मको बाँकी ५० प्रतिशत छायांकन मुम्बईमा हुनेछ। प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेका निर्देशक घिमिरेलेलाई प्रोडक्सन डिजाइनर भएर जेठी छोरी भावनाले सघाइरहेकी छन्।

‘मैले पहिले छड्के फिल्ममा पनि गीत गाएको थिएँ। वर्षौंपछि फेरि गीत गाउँदा अझै मज्जा आयो। हिन्दी र नेपाली शब्द मिसाइएको गीतको लिरिक्स सुन्दा कठिन होला कि जस्तो लागेको थियो तर गाउँदै जाँदा सजिलै गाए’, गीत रेकर्डपछि विपिनले भने।

असोज २०, २०८१ सोमबार १०:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।