हमास आक्रमणको एक वर्ष पुग्दा इजरायली प्रधानमन्त्रीले भने- हामी अवश्य इरानमाथि आक्रमण गर्नेछौँ

हमास आक्रमणको एक वर्ष पुग्दा इजरायली प्रधानमन्त्रीले भने- हामी अवश्य इरानमाथि आक्रमण गर्नेछौँ

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणको बदला लिने बताएका छन्।

इजरायल-हमास युद्धको एक वर्ष पूरा हुनुअघि एक भिडियो सन्देश जारी गर्दै उनले इरानमाथि आक्रमण गर्ने विषय दोहोर्याएका हुन्।

आत्मरक्षाको अधिकार भएको बताउँदै नेतन्याहुले इजरायल अहिले सात मोर्चामा लडिरहेको बताए।

‘हामी हाम्रो देशलाई हमास, इरान, हिजबुल्लाह, वेस्ट बैंकका आतंककारीहरू, यमनका हुथी र इराक-सिरिया शिया विद्रोहीहरूको आक्रमणबाट बचाइरहेका छौँ।’

यसैबीच इजरायलका रक्षामन्त्री योभ गालान्टले इरानविरुद्ध बदला लिन इजरायलले अमेरिकासँग मिलेर काम गरिरहेको बताएका छन्। यो आक्रमण कहिले र कसरी गर्ने भन्ने निर्णय इजरायलले गर्ने उनको भनाइ छ।

अमेरिकाले इरानको आणविक अखडामा भएको आक्रमणको विरुद्धमा रहेको बताएको बेला इजरायली रक्षामन्त्रीले आफू सबै विकल्पमा खुला रहेको बताए।

युद्धको एक वर्ष पूरा हुन लाग्दा इजरायली सेनाले गाजा सीमा नजिक सेनाको तैनाथी बढाएको छ। हमासले इजरायलमा फेरि ठूलो आक्रमणको प्रयास गर्नसक्ने आँकलन गर्दै सेना बढाइएको हो।

इजरायली सेनाले दक्षिणी लेबनानमा गरिरहेको सैन्य कारबाहीको क्रममा धेरै हिजबुल्लाह लडाकु कम्पाउन्डहरू फेला पारिएको बताएको छ। जहाँबाट रकेट लन्चर, मोर्टार, माइन, आईईडी, विस्फोटक पदार्थ, एन्टी ट्याङ्क मिसाइल र ग्रेनेड सयौं खतरनाक हतियार बरामद भएको छ।

हिजबुल्लाहको रडवान फोर्सका लडाकुहरूले आतंकवादी आक्रमणका लागि यी हतियार प्रयोग गरिरहेको इजरायली सेनाको भनाइ छ। यी हतियारहरू जफत गरी इजरायल पठाइँदैछ।

असोज २०, २०८१ सोमबार ०८:४१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।