१६ वर्षीया असिस्टेन्टलाई बलात्कार गरेको आरोप लागेपछि भारतीय कोरियोग्राफर जानी मास्टरको नेशनल अवार्ड खोसियो

१६ वर्षीया असिस्टेन्टलाई बलात्कार गरेको आरोप लागेपछि भारतीय कोरियोग्राफर जानी मास्टरको नेशनल अवार्ड खोसियो

एजेन्सी : नाबालिग असिस्टेन्टलाई बलात्कार गरेको आरोप लागेका भारतीय कोरियोग्राफर ‘जानी मास्टर’बाट उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय अवार्ड खोसिएको छ।

त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले आइतबार एक सूचना जारी गरेर यसबारे जानकारी दिएको हो।

उनकी असिस्टेन्ट रहेकी एक युवतीले १५ सेप्टेम्बरमा तेलंगानाको साइबराबाद रायदुर्गम पुलिस स्टेशनमा जानी मास्टरविरुद्ध एफआईआर दर्ता गरेकी थिइन्।

सन् २०२२ मा रिलिज भएको धनुषको फिल्म ‘तिरुचित्रम्बलम’ को ‘मेघम करुकथा’ गीतको नृत्य कोरियोग्राफीको आधारमा जानी मास्टरलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। यो गीतमा उनले सतीश कृष्णनलाई नचाएका थिए।

उनले स्त्री २ को गीत ‘आइ नही’ र पुष्पाको गीत ‘श्रीवल्ली’ को कोरियोग्राफी गरेका छन्।

के थियो आरोप?
जानी मास्टरविरुद्ध मुद्दा दायर गर्ने युवतीले चेन्नई, मुम्बई र हैदरावादमा विभिन्न प्रोजेक्टको सुटिङका ​​क्रममा आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन्।

उनले हैदरावादस्थित आफ्नो घरमा पनि पटक-पटक दुर्व्यवहार गरेको ती युवतीको भनाइ छ। उनले आफू १६ वर्षको हुँदा देखि नै जानीले यौन शोषण गरेको आरोप लगाएकी छन्।

युवतीले आफ्नो उजुरीमा सन् २०१७ मा जानी मास्टरसँग भेट भएको बताएकी छन्। दुई वर्षपछि, जानीले उनलाई आफ्नो सहायक कोरियोग्राफरको कामको प्रस्ताव गरेको र त्यसलाई स्वीकार गरेको उल्लेख गरेकी छन्।

त्यसपछि मुम्बईमा एक शोका क्रममा जानीले उनलाई होटलमा यौन दुर्व्यवहार गरे। त्यसपछि जानीले लगातार धम्की दिएर शोषण गरेको युवतीको आरोप छ।

जानीले ती युवतीसँग विवाहको लागि समेत दबाब दिइरहेकी थिइन्। यति मात्र नभएर जानीले उनलाई एकपटक आफ्नो घरमा लगेर उनी स्वयं र श्रीमती आयशाले कुटपिट गरेको समेत उजुरीमा उल्लेख छ। अहिले ती युवती २१ वर्षकी भइन्।

यसअघि पनि २०१५ मा पनि विवादका कारण जानी ६ महिना जेल परेका थिए।

प्रहरीमा मुद्दा दर्ता
युवतीले एफआईआर दर्ता गरेपछि प्रहरीले १५ सेप्टेम्बरमा जानीविरुद्ध पोक्सो मुद्दा दर्ता गरेको थियो।

मुद्दा दर्ता भएसँगै जानीलाई १९ सेप्टेम्बरमा गोवाबाट पक्राउ गरिएको थियो। उनलाई २० सेप्टेम्बरमा अदालतमा पेश गरिएकोमा अदालतले थुनामा पठाउने आदेश दिएको थियो।

जानीले अक्टोबर ८ मा हुने राष्ट्रिय अवार्ड समारोहका लागि धरौटी मागेका थिए। अदालतले कोरियोग्राफरलाई अक्टोबर ६ देखि १० गतेसम्म धरौटी समेत दिएको थियो।

यसैबीच, सूचना तथा प्रसारण मन्त्रालयको राष्ट्रिय चलचित्र अवार्ड सेलले जानीको अवार्ड समारोहमा निमन्त्रणा स्थगन गरेको घोषणा गरेको छ।

असोज २०, २०८१ सोमबार ०८:०९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।