इजरायलले गाजा र दक्षिण लेबनानमा बमबारीलाई तीव्र पार्‍यो, १९ प्यालेस्टाइनीको मृत्यु

इजरायलले गाजा र दक्षिण लेबनानमा बमबारीलाई तीव्र पार्‍यो,  १९ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी : इजरायलले आइतबार उत्तरी गाजा र दक्षिणी लेबनानमा आक्रमणलाई तीव्र पारेको छ।

प्यालेस्टिनी अधिकारीहरूले मस्जिदमा भएको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको बताएका छन्। ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

यसै क्रममा इजरायलले दक्षिण लेबनान र बेरुतमा पनि आक्रमण गरेको थियो। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाह स्थानहरूमा १५० भन्दा बढी मिसाइल प्रहार गरेको छ।  आक्रमणमा एक हिजबुल्लाह कमाण्डरको मृत्यु भएको बताइएको छ।

जवाफमा हिजबुल्लाहले इजरायलको हाइफा शहरमा १५ भन्दा बढी रकेट प्रहार गरेको थियो। यस आक्रमणमा ६ जना घाइते भएको समाचार छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणका कारण विगत दुई सातामा १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ।

गत वर्ष, आजकै दिन हमासले इजरायली सीमा पार गरी एक हजार दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको थियो। २५० भन्दा बढी मानिसलाई बन्धक बनाएको थियो। तीमध्ये १०० भन्दा बढी इजरायली नागरिक अझै पनि बन्दी बनिरहेका छन्। घटनापछि इजरायल र हमासबीच युद्ध शुरू भएको हो।

गाजाको सरकारी मिडिया कार्यालयका अनुसार इजरायली सेनाले युद्धमा १७ हजार बालबालिका र ११ हजार ४८७ महिलासहित ४१ हजार ८७० व्यक्तिको हत्या गरेको छ।

असोज २०, २०८१ सोमबार ०७:४७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।