पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु

पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु

एजेन्सी : पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार राति भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ। घटनामा एक चिनियाँ नागरिक पनि घाइते भएका छन्।

चीनले घटनाबारे एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आतंकवादी हमलामा हाम्रा दुई नागरिकको मृत्यु भएको छ।’

चिनियाँ दूतावासले विज्ञप्तिमा धेरै स्थानीय घाइते भएको पनि उल्लेख गरेको छ। यस घटनाको जिम्मेवारी पाकिस्तानको पृथकतावादी समूह ‘बलोच लिबरेशन आर्मी’ले लिएको छ।

समूहले चिनियाँ इन्जिनियर र लगानीकर्ताहरूको र्यालीलाई निशाना बनाएको बताएको छ।

घटनास्थलको भ्रमण गरेका कराँची प्रहरीका प्रवक्ता गुलाम महेसरका अनुसार विस्फोटले इन्धन ट्याङ्करमा पनि आगो लगाएको छ र नजिकैका धेरै सवारीसाधनहरू जलेका छन्।

घटनापछि सांघाई सहयोग संगठनका नेताहरूको शिखर सम्मेलन आयोजनाको तयारीमा रहेको पाकिस्तानले सुरक्षा व्यवस्थालाई अझ कडा बनाएको छ।

असोज २०, २०८१ सोमबार ०७:३७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।