नवरात्रको पाँचौं दिन : सूर्यमण्डलकी अधिष्ठात्री देवी स्कन्दमाताको उपासना

नवरात्रको पाँचौं दिन : सूर्यमण्डलकी अधिष्ठात्री देवी स्कन्दमाताको उपासना

नवदुर्गाको पाँचौं रूप स्कन्दमाता हो। शारदीय नवरात्रको पाँचौं दिन अर्थात् आश्विन शुक्ल पञ्चमीका दिन जगज्जननी स्कन्दमाताको उपासना गरिन्छ। 

स्कन्द अर्थात् कार्तिकेयकी माता हुनाले यिनलाई स्कन्दमाता भनिएको हो। स्कन्दलाई कुमार, कार्तिकेय, षडानन आदि नामले पनि चिनिन्छ। यिनी देवताहरूका सेनापति हुन्।

पौराणिक कथाअनुसार तारकासुरबाट पराजित देवताहरूले सात वर्षका स्कन्दलाई सेनापति बनाएर लडाईं गर्दा त्यस असुरमाथि विजय प्राप्त गरेका थिए। त्यसै बेलादेखि स्कन्द देवगणका सेनापति भएका हुन्। 

स्कन्दमाता गोरो वर्णकी, तेजस्विनी, चतुर्भुजा देवी हुन्। यिनले दुई हातमा कमलपुष्प धारण गरेकी छन्। एक हात वरमुद्रामा रहेको छ। एक हातले स्कन्दलाई काखमा लिएकी छन्। यिनका काखमा बालक स्कन्द छन्।

स्कन्दका हातमा शक्ति नामको आयुध र धनुर्वाण आदि हतियार पनि रहन्छन्। स्कन्दमाता कमलमा बस्छिन्। त्यसैले यिनलाई पद्मासना भनिन्छ। यिनको वाहन भने सिंह हो। स्कन्दमातालाई सूर्यमण्डलकी अधिष्ठात्री देवी मानिएको छ।

स्कन्दमाताको पूजा-आराधना गर्नाले भक्तका समस्त कामना पूरा हुन्छन् भनेर बताइएको छ। पारिवारिक सुख, सन्तति, समृद्धि, यश, पराक्रम, निर्भय र शत्रुनाश गर्ने स्कन्दमाताको उपासनाबाट भक्तले भोग र मोक्ष दुवै प्राप्त गर्छ। दाम्पत्यसुखका लागि स्कन्दमाताको आराधना विशेष महत्त्वपूर्ण मानिन्छ। 

पूजाविधि
नवरात्रका अघिल्ला दिनहरूमा जस्तै पाँचौँ दिन स्कन्दमाताको पूजा हुन्छ। स्कन्दमाताको पूजा गर्दा स्कन्दको पनि पूजा गर्नुपर्छ। अरू मन्त्रका अतिरिक्त ॐ स्कन्दमात्रे नमः भनेर स्कन्दमाताको र ॐ स्कन्दाय नमः भनेर स्कन्दको पूजा गर्न सकिन्छ। स्कन्दमाताको पूजा गर्दा उनको वाहन सिंह, स्कन्दको वाहन मयूर र स्कन्दका हातमा रहेका शस्त्रअस्त्रहरूको पनि पूजा गर्नुपर्छ। 

पाँचौँ दिनमा ६ वर्षकी कन्याको पूजा हुन्छ। यिनको नाम काली हुन्छ। यिनलाई ॐ काल्यै नमः, ॐ कुमार्यै नमः भनेर पूजा गर्न सकिन्छ। अन्य कर्म अरू दिनजस्तै गर्नुपर्छ। 

सप्तशती अन्तर्गतका केही मन्त्रमय पद्यहरू
नवरात्रमा प्रत्येक दिन दुर्गासप्तशतीको पाठ गरिन्छ। सप्तशतीका प्रत्येक पद्य मन्त्रमय मानिन्छन्। अरू कुनै मन्त्र नजाने पनि सप्तशतीका मन्त्र भनेर पूजा-प्रार्थना गर्नाले देवी प्रसन्न हुन्छिन्। पूजा र प्रार्थनामा बहुप्रचलित केही स्तुतिपद्य यहाँ प्रस्तुत छन्। यी विशेष कामनासिद्धिका लागि पनि उपयोगी छन्। 

जयन्ती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।। (अर्गला-१)

जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नामले प्रसिद्ध हे जगज्जननी ! तपाईंलाई नमस्कार छ। (महामारीजन्य उपद्रव शान्तिका लागि यसको जप वा यस मन्त्रले सप्तशती सम्पुट पाठ गर्ने विधान छ।)

ज्ञानिनामपि चेतांसि देवी भगवती हि सा ।
बलादाकृष्य मोहाय महामाया प्रयच्छति ।। (१/५५,५६)

भगवती महामायाले ज्ञानीका चित्तलाई पनि बलपूर्वक तानेर मोहमा पारिदिनुहुन्छ। (ज्ञान प्राप्तिका लागि यसको जप वा यस मन्त्रले सप्तशती सम्पुट पाठ गर्ने विधान छ।)

या श्रीः स्वयं सुकृतिनां भवनेष्वलक्ष्मीः
पापात्मनां कृतधियां हृदयेषु बुद्धिः ।
श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा
तां त्वां नताः स्म परिपालय देवि विश्वम् ।। (४/५)

जुन देवी पुण्यात्माहरूका घरमा आफैँ लक्ष्मी रूपले, पापीहरूका घरमा दरिद्रता रूपले, शुद्ध चित्त हुनेका हृदयमा बुद्धि रूपले, सज्जनमा श्रद्धा रूपले, कुलीन व्यक्तिमा लज्जा रूपले निवास गर्नुहुन्छ, त्यस्ती तपाईंलाई नमस्कार गर्छौं। हे देवी ! तपाईं सम्पूर्ण विश्वलाई पालन गर्नुहोस्। (विश्वको रक्षाका लागि यसको जप वा यस मन्त्रले सप्तशती सम्पुट पाठ गर्ने विधान छ।)

दुर्गे स्मृता हरसि भीतिमशेषजन्तोः
स्वस्थैः स्मृता मतिमतीव शुभां ददासि ।
दारिद्र्यदुःखभयहारिणि का त्वदन्या
सर्वोपकारकरणाय सदाऽऽद्र्रचित्ता ।। (४/१७)

हे दुर्गा माता! स्मरण गर्नासाथ तपाईंले सबै प्राणीका सबै किसिमका भय हरण गर्नुहुन्छ। स्वस्थ अवस्थामा स्मरण गर्नाले परम कल्याणमय बुद्धि दिनुहुन्छ। दरिद्रता, दुःख र भय हरण गर्ने, सबैको उपकारका लागि सधैं करुणाले चित्त पग्लिएको तपाईंजस्तो अरू को छ र? (दुःख, दरिद्रता र भय निवारणका लागि यसको जप वा यस मन्त्रले सप्तशती सम्पुट पाठ गर्ने विधान छ।)

नमो देव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृत्यै भद्रायै नियताः प्रणताः स्म ताम् ।। (५/९)

देवीलाई नमस्कार छ। महादेवी शिवालाई सदा नमस्कार छ। प्रकृतिलाई  नमस्कार छ। हामी कल्याणमयी जगज्जननीलाई नियमपूर्वक नमस्कार गर्छाैं। 

देवि प्रपन्नार्तिहरे प्रसीद
प्रसीद मातर्जगतोऽखिलस्य 
प्रसीद विश्वेश्वरि पाहि विश्वं
त्वमीश्वरी देवि चराचरस्य ।। (११/३)

शरणमा आएका भक्तको पीडा हरण गर्ने हे देवी! तपाईं प्रसन्न हुनुहोस्। हे सम्पूर्ण जगत्की माता! प्रसन्न हुनुहोस्। हे विश्वकी स्वामिनी! तपाईं प्रसन्न हुनुहोस् र विश्वको रक्षा गर्नुहोस्। तपाईं चर र अचर जगत्की स्वामिनी हुनुहुन्छ। (विश्वव्यापी विपत्तिको विनाशका लागि यसको जप वा यस मन्त्रले सप्तशती सम्पुट पाठ गर्ने विधान छ।)

सर्वमङ्गलमङ्गल्ये शिवे सर्वार्थसाधिके!
शरण्ये œयम्बके गौरि नारायणि नमोऽस्तु ते ।। (११/१०)

हे नारायणी! तपाईं सबै किसिमका मंगल प्रदान गर्ने मंगलमयी हुनुहुन्छ। तपाईं सबैको कल्याण गर्ने हुनुहुन्छ। तपाईंले धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थ सिद्ध गरिदिनुहुन्छ। शरणमा आएका भक्तहरूलाई तपाईंले कल्याण गर्नुहुन्छ। तीन नेत्र भएकी हे गौरी! तपाईंलाई नमस्कार छ। (सबै किसिमका कल्याणका लागि यसको जप वा यस मन्त्रले सप्तशती सम्पुट पाठ गरिन्छ।)

शरणागत-दीनार्तपरित्राण-परायणे।
सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तु ते ।। (११/१२)

शरणमा आएका दीन-दुःखी एवं पीडितहरूको रक्षामा संलग्न हुने, सबैका दुःख हरण गर्ने हे नारायणी देवी ! तपाईंलाई नमस्कार छ। (दुःख-पीडाबाट मुक्ति पाउनका लागि यसको जप वा यस मन्त्रले सप्तशती सम्पुट पाठ गरिन्छ।)

रोगानशेषानपहंसि तुष्टा
रुष्टा तु कामान् सकलानभीष्टान् । 
त्वामाश्रितानां न विपन्नराणां
त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति ।। (११/२९)

हे देवी! तपाईं प्रसन्न हुनुभयो भने सबै रोग नाश गरिदिनुहुन्छ। तपाईं रुष्ट हुुनुभयो भने सबै इच्छित वस्तु नाश गरिदिनुहुन्छ। तपाईंको शरणमा जाने भक्तलाई कुनै विपत्ति पर्दैन। तपाईंको शरणमा पुगेको भक्त अरूलाई शरण दिन सक्ने हुन्छ। (रोग नाशका लागि र इच्छित वस्तु प्राप्तिका लागि यसको जप वा यस मन्त्रले सप्तशती सम्पुट पाठ गरिन्छ।)

सिद्धि प्राप्त गर्ने दृष्टिले दुर्गासप्तशती शक्तिशाली मानिएको छ। मारण, मोहन, वशीकरण, स्तम्भन, उच्चाटनजस्ता प्रयोग सिद्धिका लागि पनि सप्तशती सबैभन्दा उपयोगी मानिएको छ। त्यस किसिमका प्रयोगका लागि विधि भने फरक फरक छन्। निष्काम भावले सप्तशतीको पाठ गर्नाले भगवतीको कृपा प्राप्त हुन्छ र मनोवाञ्छित फल प्राप्त हुन्छ।

असोज २१, २०८१ सोमबार ०७:१४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।