बेहुली फ्रम मेघौली : बलियो अभिनय, कमजोर चरित्र चित्रण
आफ्नोबारे आफैँ निर्णय गर्ने स्वतन्त्र युवतीको दृष्टिकोणसँगै उमेर घर्कदैजाँदा ‘विवाह कहिले गर्ने’ भन्ने सामाजिक कचकचको मनोविज्ञानमा पार्ने प्रभावलाई केन्द्रबिन्दु बनाएर निर्माण भएको फिल्म हो ‘बेहुली फ्रम मेघौली’। सामाजिक कथामा कमेडी भरपुर मिसाएका छन् निर्देशकले।
तर, ‘दर्शक फिल्म हेरेर हलबाट निस्किएपछि पनि लामो समय कुनै पात्र वा दृश्यले दिमागमा हानिरहन्छ भने त्यो फिल्म सफल हो’ भन्ने धारणाका साथ फिल्मको चयन गर्ने दर्शकका लागि फिल्म ‘बेहुली फ्रम मेघौली’ ठिक रोजाई हैन।
‘फिल्म भनेको मनोरञ्जनका लागि हेरिने हो। हेरुन्जेल रमाइलो भए भइहाल्यो नि’ भन्ने सोच छ भने यो फिल्म हेर्दा हुन्छ।
उमेर र विवाहको सम्बन्ध नै यो फिल्मको केन्द्रीय कथा हो। युवतीको उमेर बढ्दै जाँदा परिवारका सदस्यमा बढाउने तनावमा कमेडीको तड्कासहित पस्कने प्रयास गरेका छन् निर्देशकले।
चितवनको मेघौली गाउँका न्यौपाने परिवारकी जेठी छोरीको बेहुली बन्ने सपना अधुरै रहेको कथालाई लेखक तथा निर्देशक सजन काफ्ले र आकाश बरालले मिहेनतसाथ पर्दामा उतार्ने प्रयास गरेका छन्।
पहिलो हाफमा पात्र र चरित्र चित्रणमा धेरै समय खर्चिएको देखिन्छ। निश्चल पात्रको प्रवेशबाट फिल्मले केही गति बढाउँछ। तर दोस्रो हाफमा पनि फिल्मको कथा कता कता बरालिएको हो कि भन्ने भान पार्छ।
सेन्ट्रल आइडियामा अड्किन निर्देशकले निकै मिहेनत गरेका छन्। फिल्ममा जे जस्ता प्लटहरूको निर्माण गरिएको छ त्यो त्यति वास्तविक देखिँदैनन्।
तर फिल्म ‘बेहुली फ्रम मेघौली’बाट नव लेखक तथा निर्देशकद्धय सजन र आकाशले फिल्म लेखन र निर्देशनमा बलियो सम्भावना देखाएका छन् लेख्न कन्जुस्याइँ गरिरहनु पर्दैन।
सामाजिक कथामा सिचुएस्नल कमेडी मिसाएर दर्शकलाई हँसाउन निर्देशक सफल भएका छन्। फिल्मको प्रस्तुति इन्गेजिङ छ। फिल्मको साङ्गीतिक पक्ष बलियो छ। सिनेमाटोग्राफीमा गरिएको मिहेनत प्रस्टै देखिन्छ।
तर फिल्मको मूल कथा अनुसार पात्रको चरित्र चित्रणमा भने समस्या देखिन्छ। मूल पात्र मिना (स्वस्तिमा) कुन स्वभावकी पात्र हुन्? स्वनिर्णयमा अडिग पात्र या निरीह। उनलाई अहिलेको समयको युवतीको प्रतिनिधित्व गराउने प्रयास गरेका छन् निर्देशकले तर फिल्मको कथा अगाडि बढाउने क्रममा निर्देशक पात्रको चरित्र चित्रणमा अलमलमा परेको प्रस्टै अनुभव हुन्छ।
आफ्नो जीवनको निर्णय आफैँले गर्ने युवतीको भूमिकामा अभिनय गराउँदा गराउँदै निर्देशकले उनलाई कतैकतै रुन्चे पात्रमा बदलेका छन्।
विवाह जस्तो जीवनको महत्त्वपूर्ण निर्णय गर्न आत्मनिर्भर देखिने पात्र एक युवाका लागि हदैसम्म मरिहत्ते गर्ने चरित्रले स्वस्तिमाको चरित्रलाई एकनासले अगाडि लैजान सफल भएनन् निर्देशक। धोका दिने पुरुषसँग जसरी पनि विवाह गर्न मरिहत्ते गर्ने युवतीले अहिलेको स्वनिर्णयमा अडिग पुस्ताको प्रतिनिधित्व गर्न सक्छ र!
फिल्मको कथा अनुमानयोग्य छ। लामो समय सस्पेन्स कायम रहन्न। फिल्मका सहायक कथाहरू धेरैतिर छरिदा फिल्म कतै कतै बरालिएको देखिन्छ।
संवादका क्रममा कुनै-कुनै दृश्यमा अलि छिटो बोल्दा ‘के बोलेको हो’ भनेर बुझ्न अलि कठिनै पर्छ। प्रेमीको बिहे भाँड्न ट्याक्टर लिएर पुगेकी स्वस्तिमाले प्रेमीसँग रुँदै बोल्दा दर्शक भावुक हुनुपर्ने हो। तर रुँदै छिटोछिटो बोल्दा उनले के भनिरहेको हो भनेर ठम्याउन अलि मुस्किलै पर्छ।
चरित्रचित्रण अनि संवादमा केही समस्या देखिए पनि अभिनयमा समस्या देखिन्न स्वस्तिमाको। उनले चरित्र अनुसार सक्दो मिहेनत गरेकी छिन्।
स्वस्तिमाको अपोजिट नीरजको भूमिकामा रहेका निश्चलको छनौट यो फिल्मको सबैभन्दा कमजोर पक्ष देखियो। युवा वर्गमा रहेको बिदेसिने मोह अनि विदेशमा सेटल हुनका लागि जुनसुकै हदसम्म जान सक्ने पात्रको प्रतिनिधित्व गर्ने प्रयास गरेका छन् निश्चलले।
तर सो चरित्र अनुसार अभिनयमा कमजोर देखिएका छन् उनी। जुन रूपमा नीरजको चरित्र चित्रण गरिएको छ, त्यसमा उनको विकल्पमा जान नसक्नु निर्देशकको सबैभन्दा ठुलो कमजोरी हो।
‘बेहुली फ्रम मेघौली’मा विजय बराल स्वस्तिमाको मामा बनेका छन्। बरालका हरेक संवादले दर्शकलाई रमाइलो गराउँछ। उनले अभिनयमार्फत पूरै फिल्मको कथा बोकेका छन्।
पछिल्लो समय मूल कलाकारको अभिनयमाथि सहायक कलाकार हाबी हुने क्रम बढिरहेको छ। ‘बेहुली फ्रम मेघौली’मा पनि अभिनेता विजय बरालको अभिनय त्यस्तै छ। दर्शकले सम्झने पात्र उनै बराल नै हुन्।
बरालपछिका अर्का कलाकार हुन् सरोज अर्याल। कुरौटे छिमेकी बनेका अर्यालको भूमिका पनि रमाइलो छ। स्वस्तिमाको बैनी मनिषाको भूमिकामा देखिएकी सिम्रन खड्काको अभिनय ठिकठाक छ। मिनाको आमा बनेकी सिरु बिस्टको चरित्र अलि बढी नै रुन्चे भयो कि!
सामान्य लाग्ने विषयलाई पनि गम्भीर सन्देशका साथ रमाइलो रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नु ‘बेहुली फ्रम मेघौली’को सबैभन्दा बलियो पक्ष हो। अनि चरित्र अनुसार पात्रको छनौट गर्न नसक्नु कमजोरी।
तर, यत्तिको फिल्म परिवारका साथ हेर्दा समय र पैसा खेर गएको अनुभव भने हुन्न।
असोज २०, २०८१ आइतबार २३:३४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।