प्रधानमन्त्रीलाई कांग्रेसको ३४ बुँदे ध्यानाकर्षण, कोषमा पचास लाख हस्तान्तरण
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालिन रुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरे।
त्यसअवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए।
उनले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाए।
नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्वतयारी गर्न एकता र एकताबद्ध भावनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ।
असोज २०, २०८१ आइतबार १६:५७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।