मन्त्रिपरिषद् बैठकका २१ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २१ निर्णय सार्वजनिक

काठमाडौं : सरकारले मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णयहरू सार्वजनिक गरेको छ।

आइतबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शनिबार बसेको मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गरे। 

बैठकका निर्णयहरू :
- थाइल्याण्डको बैंककमा २०८१ असोज २२ देखि २४ सम्म आयोजना हुने सामाजिक विकाससम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रकाश कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
- नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ को निर्णयअनुसार नेपाल राष्ट्र बैंकका गभर्नर उपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने। 
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि अधिकृतस्तरका २८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने। 
- नेपाल विद्युत प्राधिकरण रामेछाप उपवितरण केन्द्रको लागि करिब सात रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने।
- राजस्व न्यायाधीकरण विराटनगरको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दलाई र राजस्व न्यायाधीकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका माननीय न्यायाधीश सुभाष पौडेललाई तोक्ने।
- वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दीपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने।
- २०८१ असोज १० देखि परेको अविरल वर्षाका कारण प्रभावित बाह्र जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने।
- गृह मन्त्रालयअन्तर्गतका आव २०८१/८२ का लागि अधिकृत स्तरका २१ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने। 
- गृह मन्त्रालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने। 
- अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने।
- नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकउपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिने। 
- बुटवल उपमहानगरपालिकालाई उजीरसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने। 
- २०८१/७/१३ देखि १४ सम्म कोलोम्बियामा आयोजना हुने  High Level Segment of the UN Biodiversity Conference 2024 मा सहभागी हुन वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।
- २०८१/६/२३ देखि २५ सम्म अजरबैजानमा आयोजना हुने High Level Ministerial Dialogue on the New Collective Quantified Goal on Climate Finance / Pre–COP Informal Ministerial Meeting मा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने।
- अजिरकोट गाउँ कार्यपालिकाको कार्यालय, गोरखालाई प्रशासनिक भवन निर्माणको लागि छ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने।
- व्यवहारिक विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।
- वैदेशिक रोजगार (छैटौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
- सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्ष पदमा प्रा.डा.ठाकुर प्रसाद दुवाडीलाई मनोनयन गर्ने।
- २०८१ असोज २१ देखि २३ सम्म भारतको नयाँदिल्लीमा सञ्चालन हुने Seventy–seventh Session of the WHO Regional Committee for South–East Asia कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री नेतृत्वको प्रतिनिधिण्डललाई स्वीकृति प्रदान गर्ने।
- यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी गर्ने।
- जल तथा मौसम विज्ञान नीति, २०८१ स्वीकृत गर्ने। 

असोज १९, २०८१ आइतबार १६:५०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।