भकुण्डे-तेमाल मेच्छेपौवा बाटो खुल्यो, बीपी राजमार्गमा फसेका ५०० सवारीसाधन काठमाडौं आउँदै
काठमाडौं : बाढीपहिरोका कारण अवरूद्ध भएको भकुण्डे-कानपुर-कोटतेमाल-पोखरी नारायणस्थान-मेच्छेपौवा सडक आजदेखि खुलेको छ। बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन्।
यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बताए।
तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ-सिन्दुरेटार-मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनको भनाई छ। त्यस सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ।
बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए।
बीपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौं पुगेका छन्। राजमार्गको रोशी गाउँपालिका-११ डम्फुपार्क तथा वडा नम्बर ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने छ।
असोज २०, २०८१ आइतबार १५:३०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।