विद्यालयको शौचालय फोहरै-फोहरले भरिएपछि जंगल र खेतबारी धाउँछन् विद्यार्थी

विद्यालयको शौचालय फोहरै-फोहरले भरिएपछि जंगल र खेतबारी धाउँछन् विद्यार्थी

मुगु : तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको मुगुका विद्यालयका विद्यार्थीहरू शौच गर्न जंगल र झाडीतिर जान बाध्य छन्। 

२०७५ जेष्ठ २८ मा साविकका २४ गाउँ विकास समितिमा तामझामसहित राज्यकोषबाट ठूलो लगानी खर्च गरेर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएपनि विद्यालयमा शौचालय र पानीको अभावमा विद्यार्थीहरू जंगलतिर धाउन बाध्य छन्। 

पश्चिम भेगमा पर्ने सोरू गाउँपालिकाको वडा नम्बर ३ ठूला गाँउमा रहेको गुरू माध्यमिक विद्यालयमा अध्ययनरत एक सय १९ छात्र, एक सय ६२ छात्रा विद्यालयमा खानेपानी वा हात धुने पानीको व्यवस्था नहुँदा अन्यन्त्र जान्छन्। 

विद्यालयमा रहेका दुई वटा शौचालय र एउटा यूरिनलमा दिशा र पिसाबले भरिएकाका कारण विद्यार्थीहरू दिशा र पिसाब गर्न बन जङ्गल, खेतबारीमा जान बाध्य भएका हुन्। घर नजिक भएका विद्यार्थीहरू आफ्नै घरमा जाने गरेपनि टाढा भएकाहरू बन जंगल र खेतबारीमा जाने गरेको स्थानीयहरू बताउँछन्। 

विद्यालयमा निर्माण गरिएका शौचालय दिशा र पिसाबले भरीभराउ भएपनि व्यवस्थापन समिति तथा स्थानीय सरकारले त्यसमा चासो नदिएका कारण विद्यार्थी र शिक्षकहरूलाई नै समस्या भएको कक्षा ८ मा अध्ययनरत छात्रा निरूता थामीले बताइन्।

विद्यालयका शौचालयहरू पहिला दुई/तीन पटक निर्माण तथा मर्मत गरिएको तर, पानी प्रयोग गर्ने तरिका नसिकाएको, शौचालय र धारा बिग्रिँदा शौचालय प्रयोग गर्नमा समस्या आएको अभिभावक जगत बहादुर सेजुवालले बताए।

विद्यालयमा दुई वटा शौचालय निर्माण गरिएको भएपनि विशेषगरी पानीको समस्या भएका कारण विद्यार्थीको पढाइमै वाधा पर्ने गरेकाले सम्बन्धित निकायहरूले सहयोग गरिदिन शिक्षक युवराज बलले आग्रह गरे। 

यता, पालिकाले ६८ लाखको शौचालयसहित विद्यालय भवनका लागि बजेट विनियोजन गरिदिएको उपाध्यक्ष केशर बहादुर शाहीले बताए।

असोज १९, २०८१ आइतबार १४:४८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।