माफी मागेपछि ‘सिधाकुरा’का सम्पादक ढुंगाना र प्रकाशक कँडेल कारागारमुक्त

माफी मागेपछि ‘सिधाकुरा’का सम्पादक ढुंगाना र प्रकाशक कँडेल कारागारमुक्त

काठमाडौं : सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन्। 

समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन्। उनीहरू रिहा भएसँगै सिधाकुराको न्युजरुम पुगेका छन्।

सर्वोच्च अदालतको नौ सदस्यीय वृहत् पूर्ण इजलासले आइतबार अदालतको मानहानि गरेको ठहर गर्दै उनीहरू दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो। तर, उनीहरुले माफी मागेपछि सात दिन थुनामा राख्न आदेश दिइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायाधीशहरूले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको थियो।

त्यस सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध निवेदन दिएका थिए। सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाएको छ। 

असोज १९, २०८१ आइतबार १४:१५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।