सदस्यता विवादले थिलथिलो परेको पत्रकार महासंघको निर्वाचन अब मंसिर २८ मा हुने

सदस्यता विवादले थिलथिलो परेको पत्रकार महासंघको निर्वाचन अब मंसिर २८ मा हुने

काठमाडौं : सदस्यता विवादले जटिल बनेको नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाले  निर्वाचन मंसिर २८ मा गर्ने निर्णय गरेको छ।

शनिबार मध्यरात भक्तपुरमा सकिएको प्रदेश र जिल्ला अध्यक्षहरूको भेलाले सदस्यता विवाद टुंग्याउन तीन बुँदे निर्णयसहित निर्वाचनको मिति तोकेको हो।

पटक-पटक निर्वाचनको मिति तोकिए पनि सदस्यता विवादका कारण निर्वाचन सम्भव नभएपछि अध्यक्ष विपुल पोखरेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका थिए।

नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरबीच आफ्नो सदस्यता बढाउन गैर पत्रकारलाई सदस्यता दिलाउने तर पत्रकारको नाम काट्ने प्रतिष्पर्धाले महासंघको निर्वाचन अनिश्चित बनेको थियो।

शनिबारको भेलाले शाखाकाे कार्य समितिले निर्णय गरि सर्वसम्मत टुङ्गो लगाएर प्रदेशमा पठाएका र प्रदेशले सर्वसम्मत थप गरि पास गरेका सदस्यता कायम गर्ने निर्णय गरेको छ।

जिल्लाले पठाएको तर प्रदेशले हटाएकाे नामहरूमा जिल्लालाई नै कायम गर्ने समेत निर्णय गरेको छ।

सदस्यता विवाद भएका शाखामा केन्द्र, प्रदेशका प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले टुङ्गो लगाउने,सदस्यता सम्बन्धि सबै विवाद कार्तिक मसान्तसम्म टुङ्गो लगाईसक्ने निर्णय समेत गरेको छ।

सदस्यता टुंग्याएर मंसिर २८ गते महासंघका सबै संरचनाको निर्वाचन गर्ने भेलाले निर्णय गरेको छ।

असोज १९, २०८१ आइतबार ०९:५८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।