नेपाल प्रिमियर लिगको अक्सन आज, प्रत्येक टिमलाई ९० लाखको पर्स

नेपाल प्रिमियर लिगको अक्सन आज, प्रत्येक टिमलाई ९० लाखको पर्स

काठमाडौं : नेपाल क्रिकेट संघको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिगको अक्सन आज हुँदैछ।

अक्सन दिउँसो २ बजेदेखि काठमाडौंको एक होटलमा हुने नेपाल क्रिकेट संघका सचिव पारस खड्काले जानकारी दिए।

आठ टिमबीच हुने अक्सनमा प्रत्येक टिमलाई ९० लाख रुपैयाँको पर्स दिइएको छ।

त्यसमा क्याटेगोरी ‘ए’ को तीन जना, क्याटेगोरी ‘बी’को चार जना र क्याटेगोरी ‘सी’का तीन जना गरी १० खेलाडी आफ्नो टिममा आबद्ध गराउनुपर्नेछ।

क्यानले असोज ५ देखि १२ गतेसम्म खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको थियो। एक साताको अवधिमा कुल ४ सय २६ नेपाली खेलाडीले अक्सनको लागि आफ्नो नाम दर्ता गराएका थिए।

नाम दर्ता गराएका खेलाडीहरूलाई क्यानले सर्ट लिस्ट गरि १ सय ४२ खेलाडीको अन्तिम सुची प्रकाशित गरेको छ। जसमा क्याटागोरी ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ जना खेलाडी समावेश छन्।

लिगमा सहभागी रहने विदेशी खेलाडी भने टिमले सिधै अनुबन्ध गर्न पाउनेछ। आठ टोली सहभागी रहने एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ।

अक्सनको प्रत्यक्ष प्रसारण नेपाल प्रिमियर लिगको युट्युब च्यानलमा हेर्न सकिनेछ।

असोज १९, २०८१ आइतबार ०८:४३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।