गिरोहसँग मिलेर निर्दोष फसाउँदै प्रहरी, नक्कली बलात्कारदेखि क्रिप्टोको आवरणमा ८० लाख असुली

गिरोहसँग मिलेर निर्दोष फसाउँदै प्रहरी, नक्कली बलात्कारदेखि क्रिप्टोको आवरणमा ८० लाख असुली

काठमाडौं : व्यापारीसँग पैसा असुल्न नियोजित रूपमा गिरोहसँग मिलेर थुनेको घटनाका आरोपी प्रहरी निरीक्षक बिनुकुमारी शाही निलम्बनमा परेकी छन्।

व्यापारीलाई नियन्त्रणमा लिएर बलात्कारको मुद्दा लगाउने भन्दै धम्क्याएर ३० लाख असुलेको आरोपमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

प्रारम्भिक अनुसन्धानमा शाही घटनामा संलग्न देखिएपछि गृहले निलम्बन गरेको हो। उनी प्रहरी प्रभाग भैंसेपाटीको प्रमुख थिइन्।

असोज सात गते उनीसहित तीन जना मिलेर एक व्यापारीलाई पक्राउ गरेर बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेर ३० लाख रुपैयाँ लिएर छाडिएको खुलेपछि उनलाई प्रभागबाट हटाएर अनुसन्धान थालिएको थियो।

घटनामा संलग्न तीन जना जिल्ला प्रहरी परिसर ललितपुरको थुनामा छन्। नियोजित रूपमा पक्राउ गर्ने र रकम लेनदेन भएपछि छाड्न प्रहरी नै संलग्न देखिएपछि डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो।

छानबिन प्रतिवेदन आइसकेको छैन। समितिको प्रतिवेदनको आधारमा शाहीलाई प्रतिवादी बनाउने वा नबनाउने निर्णय हुनेछ।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षकसहित तीन जना क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा समातिएकासँग ५० लाख असुलेर छाडेको घटनामा संलग्न देखिएका थिए।

क्यानडाका एक नेपाली नेपाल आएको बेलामा उनीहरूले पक्राउ गरेर तर्साउँदै रकम असुलेको घटना सार्वजनिक भएपछि काठमाडौं उपत्यका कार्यालयले छानबिन गरेको थियो। छानबिनमा रकम लेनदेन भएको खुलेको थियो।

असोज १९, २०८१ आइतबार ०८:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।