दशैंको चौथो दिन आज कूष्माण्डा देवीको अर्चना गरिँदै

दशैंको चौथो दिन आज कूष्माण्डा देवीको अर्चना गरिँदै

नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा कूष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ।

नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो। कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।

श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका रूपमा चिनिनुहुन्छ।’

यिनीजत्तिको तेजस्वी अरू कुनै देवीदेवता छैनन्, यिनैबाट सबैले प्रकाश प्राप्त गर्छन् भनिएको छ। प्रकाश र तापबाट संसारको सृष्टि हुन्छ। त्यसैले यिनी सृष्टिकी अधिष्ठात्री देवी हुन्।

कूष्माण्ड शब्दको अर्थ कुभिन्डो भन्ने पनि हो। देवी कूष्माण्डालाई कुभिन्डाको बलि प्रिय लाग्ने भएकाले यिनलाई कूष्माण्डा भनिएको हो भन्ने मान्यता पनि छ।

कूष्माण्डाको स्वरूप सूर्यजस्तै तेजिलो भनेर वर्णन गरिएको छ। यिनी अष्टभुजा देवी हुन्। यिनका आठ हात छन्। यिनका हातमा कमण्डलु, धनुष, बाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र, गदा र अक्षमाला छन्। यिनको वाहन सिंह हो।

कूष्माण्डाको हातमा रहेका शस्त्रअस्त्रले भक्तलाई अभय दिन्छन्। कमलपुष्पले शान्ति, सुख र प्रसन्नता प्रदान गर्छ। कमण्डलु र कलशले सौभाग्य एवम् मोक्षरूप परमानन्द प्रदान गर्छन्।

अक्षमालाले अष्टसिद्धि र नौ निधि प्रदान गर्छन्। देवीको वाहन सिंहले पराक्रम, निर्भय र सर्वत्र विजय प्रदान गर्छ। श्रद्धा र भक्तिपूर्वक कूष्माण्डाको आराधना गर्ने व्यक्तिले भोग र मोक्ष दुवै प्राप्त गर्छ।

पूजाविधि
नवरात्रका अन्य दिनहरूका जस्तै विधिले चौथो दिन देवी कूष्माण्डाको पूजा-अर्चना गरिन्छ। यस दिन रोहिणी नामकी कन्याको पूजा हुन्छ। प्रातः कालीन र सायं कालीन अन्य कर्म अरू दिनजस्तै गर्नुपर्छ।

असोज १९, २०८१ आइतबार ०७:३०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।