जीवनभर हात्ती स्याहारे, अमिर शेख तमिमसँगै कतार जाने तयारीमै हात्तीबाटै मारिए जदु
बरहथवा (सर्लाही) : २०८१ वैशाख ११ मा नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणमा आएकोबेलामा एक जोडी हात्ती उपहार दिने घोषणा गरेको थियो।
हात्ती कतार जाने भएपछि खगेन्द्र प्रसादलाई जन्मेदेखि रेखदेख गर्ने, तालिम दिने सर्लाही, हरिपुर नगरपालिका–७, निवासी जदु सिंह पनि सँगै कतार जाने तय भएको थियो। तर उनै जदु हात्तीकै आक्रमणबाट मारिए।
कतारका अमिरलाई सौरहामा जदुले तालिम दिएका खगेन्द्र प्रसादले नै माला लगाइ ढोग तथा नमस्कार गरी स्वागत गरेका थिए।
हात्ती विधिवतरुपमा हस्तान्तरण भए पनि प्रक्रियागत कुराका कारण तत्काललाई पठाउने काम रोकियो । तत्कालका लागि हात्ती कतार नलगिने भएपछि उनी पनि जान पाएनन्।
खगेन्द्रप्रसाद र रुद्रकलीसँगै सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरबाट छ जना कतार जाने तयारी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो।
आफूले हुर्काएको खगेन्द्रसँगै कतार जाने कुराले जदु पनि उत्साहित थिए। कतार जाने तयारीबारे उनले घरमासमेत बताएको आमा पहुनिया देवीले बताइन्। जदुले आफू कार्यरत रहँदा दर्जनौँ हात्तीका छावा हुर्काए।
‘हात्ती लिएर कतार जान्छु, भनेको थियो,” उनले भने, ‘पैसा पनि राम्रो कमाइ हुन्छ भन्दै खुसी भएको थियो। मेरो बाबुलाई हात्तीले मारिदियो।’
गत बिहीबार साँझ उनी तरकारी लिएर आउनेक्रममा गोविन्द नामको जङ्गली हात्तीको आक्रमणमा परेका थिए। उनीसँगै आक्रमणमा परेका अर्का माउत्तै भागेर जोगिए। तर उनी जोगिन सकेनन्।
आर्थिक रूपमा अत्यन्त विपन्न परिवारको एक मात्र भरोसा थिए उनी। उनको मृत्युसँगै सिंहको छ जनाको परिवार आर्थिक सङ्कटमा छ अहिले।
‘जदु घरको एकमात्र कमाउने सदस्य हुनुहुन्थ्यो’, उहाँका बुवा ७० वर्षका पञ्चलाल सिंहले भन्नुभयो, ‘श्रीमती, दुई छोरा, एक छोरी र हामी बूढाबूढीको लालनपालन उसैले गरेको थियो। हाम्रो बिचल्ली भयो, घरबार धान्ने एकमात्र छोरालाई हात्तीले मारिदियो, अब कसको सहारामा बाच्नु ?’
जदुले केही वर्ष पहिला जेठी छोरीको चितवनमै विवाह गरिदिए। बाँकी १९ र छ वर्षका दुई छोरा र १६ वर्षकी एक छोरी, श्रीमती र आमाबुवाको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो।
आफूहरूको औषधि खर्च मात्र मासिक तीन हजार बढी लाग्ने आमा पहुनिया देवीले बताइन्।
‘छोराको किरिया कर्म गर्नसमेत ऋण माग्नुपरेको छ,’ उनले भने, ‘अब हामीलाई कसले हेर्छ ?’
जदुको परिवारसँग सम्पत्तिको नाममा एउटा काठको सानो घर बाहेक केही छैन। बुबाको किरियामा १९ वर्षका छोरा रित्तिक बसेका छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले पढ्न नपाएको उनले बताए।
रितिकले ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन्। अहिले सीप सिक्न बसेको कारणसमेत आफ्नो कमाइ नभएको उनले बताए।
घटनापछि गाउँका युवाहरू गएर जदुको शव गाउँमा ल्याएर अन्तिम संस्कार गरेका थिए। एउटा भएको छोरासमेत हात्तीले खोसेको भन्दै आमा पहुनिया देवी डाँको छाडेर रोइन्।
छोराले १६ वर्षसम्म सेवा गर्दा पछि सौराहास्थित हात्ती प्रजनन केन्द्रले उनको सेवाको कदर नगरेको परिवारको गुनासो छ।
अनुभवी माउते थिए जदु
जदु चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौरहाको हात्ती प्रजनन केन्द्रका अनुभवी माउते थिए। सौरहाको हात्ती प्रजनन केन्द्रमा जदुले २०६५ सालदेखि करारमा सेवा सुरु गरेका थिए।
‘२० वर्षको उमेर गाउँका एक जना आफन्तसँग पछि लागेर सौराहामा काम गर्न गएको हो,’ उनले भने, ‘हात्तीले बच्चा पाएको बेलामा लामो समय घर आउन पाउँदैन थियो।’
जदुले हात्ती प्रजनन केन्द्रमा काम गर्न थालेका १६ वर्ष भएको थियो।
‘हात्तीको स्वभावदेखि हरेक कुरामा उहाँ जानकार हुनुहुन्थ्यो’ केन्द्र प्रमुख मनपुरण चौधरीले भने ‘बिहीबार साँझ तरकारी लिएर स्याहार केन्द्रतर्फ आउँदै गर्दा उहाँलाई गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्यो । उहाँको घटनास्थलमै ज्यान गयो। केन्द्र शोकमा छ। हाम्रो अपूरणीय क्षति भएको छ।’
सिंगबहादुर थापा/रासस
असोज १८, २०८१ शनिबार २२:१४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।