विपद् प्रभावित बिरामीलाई धुलिखेल अस्पताल पुगेर स्वास्थ्य मन्त्रीले सोधे 'उपचारको पैसा तिर्नु त परेन?'

विपद् प्रभावित बिरामीलाई धुलिखेल अस्पताल पुगेर स्वास्थ्य मन्त्रीले सोधे 'उपचारको पैसा तिर्नु त परेन?'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तिन नदिन स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको अवलोकन गरेका छन्। 

बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरूले निःशुल्क उपचार पाए-नपाएको जानकारी लिए।

उनले उपचाररत बिरामीहरूसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै बिरामीसँग प्रश्न गरे। 

परिवारका सात जना गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह गरे। 

जवाफमा तामाङले भने, 'उपचार त राम्रो पाइरहेको छु। पैसा पनि तिर्नु परेन। तर, परिवारका कोही बचेनन् बस्ने घर पनि छैन। सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो।' 

मन्त्री पौडेलले बिरामीको उपचारका लागि धुलिखेल अस्पतालले पुर्याएको सहयोगप्रति धन्यवाद दिँदै अब प्रदूषित पानी तथा फोहोरका कारण संक्रमण फैलनसक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे। 

मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धीकरण र सरसफाइ बढाउन अनि बिरामीको सहज उपचारका लागि आवश्यक हरसम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए।

असोज १८, २०८१ शनिबार २१:१६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।