ललितपुरका बाढीपीडितको गुहार 'दशैं आइसक्यो, न बस्ने छानो, न त खानाको जोहो भएको छ'

ललितपुरका बाढीपीडितको गुहार 'दशैं आइसक्यो, न बस्ने छानो, न त खानाको जोहो भएको छ'

काठमाडौं : दशैं सुरू भइसकेको छ तर, देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ। वर्षभरिको दुःख बिसाउने, बिछोडिएका आफन्तजन जमघट भएर उत्साह र उमङ्ग साट्ने यो पर्वमा यसपटक धेरै परिवारको ओत लाग्ने छानोसमेत छैन। त्यसैले धेरैका लागि यो दशैं उमङ्गविहीन हुने भएको छ। 

हुन त बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा हाल उद्धार तथा राहत सामग्री वितरण कार्य काम भइरहेका छन्। यस कार्यमा सरकार मातहतका निकाय र विभिन्न गैरसरकारी संघसंस्थाहरू निरन्तर जुटिरहेका छन् तर, काठमाडौं उपत्यकाको ललितपुर जिल्लाभित्रकै स्थानीय तहहरूमा अझै पनि पर्याप्त राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ। 

'हामी सुगम भनिएको ललितपुर जिल्लामा छौँ तर विपद्को समयमा हामीलाई त्यो महसुस हुन सकेको छैन', ललितपुरको महाङ्काल गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोलेले भनिन्। 

बाढीपहिरोले क्षतिग्रस्त भएको आठ दिनपछि बल्ल गाउँपालिकामा मोबाइल फोनको नेटवर्क टिप्न थालेको छ। विपद्ले अस्तव्यस्त बनेको गाउँपालिका क्षेत्रमा नेटवर्क नहुने र फोन नलाग्ने समस्याले केही दिनसम्म गाउँपालिकाबाहिर सम्पर्कविच्छेदको समस्या भोग्नुपरेको उनले बताइन्। 

'यहाँ धेरै नै दर्दनाक अवस्था छ। सञ्चारमा देखिएको अवरोधले हाम्रो गाउँपालिकामा भएको क्षति बाहिर आउन सकेको छैन। जसले गर्दा पीडितको पीडाबारे सञ्चार गर्न सकिएन। त्यसैले सहयोगीको साथ पनि समयमा पाउन सकिएन, उनले भनिन्। 

छ वडा रहेको यस गाउँपालिकामा बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी वडा नम्बर २ विपद्बाट प्रभावित भयो। यहाँ घर, गोठ, विद्यालय, चर्चित धार्मिकस्थल वैतरणीधाम क्षतिग्रस्त हुन पुग्यो भने अन्य भौतिक क्षतिको यकिन विवरण अझै आउन सकेको छैन। 

व्यक्ति र परिवारमा परेको पीडाको व्यथा त छँदैछ, त्यसैमा सडक बाटोमा पुगेको क्षतिबाट गाउँपालिकावासीले थप सास्ती भोग्नुपरेको छ। 

'प्रकोपमा सबै गुमाएर एउटा ज्यान मात्र बाँचेकाहरू पनि छन्। उहाँहरूसँग अब केही बाँकी छैन। उहाँहरूलाई गाँस, बास र कपासको व्यवस्था मिलाउन लागिपरेका छौँ। दातृ निकायको सहयोगका लागि अपिल गरिरहेका छौँ। आवतजावतका लागि गाउँपालिकाले मर्मतसम्भार गरी अवरुद्ध बाटो सञ्चालनमा ल्याएको छ', उपाध्यक्ष गोलेले भनिन्, 'गाउँपालिकासँग आफ्नै आन्तरिक स्रोत छैन। संघ र प्रदेश सरकारबाट आएको निश्चित योजनाको बजेट कार्यान्वयन गर्ने अवस्थामा मात्रै छौँ। जेनतेन बाटो खुलाइएकाले अब सहयोगी संघसंस्थाहरूले राहत सामग्री उपलब्ध गराउने अपेक्षा गरेका छौँ।'

यहाँको कोन्ज्योसोम गाउँपालिकामा पनि विद्युत् तथा सञ्चार सेवा अवरूद्ध भएकाले जनजीवन अझै सामान्य हुनसकेको छैन। गाउँपालिका अध्यक्ष कृष्णमान लामाले विपद्का समयमा भोगेको पीडाबाट अझै राहत महसुस भइनसकेको बताए। 

'खानेपानी ट्याङ्की र पाइपलाइन क्षतविक्षत भएका छन्। कृषि, तरकारी, दुग्धजन्य उत्पादनमा क्षति पुगेको छ। विपद्पश्चात् पनि जनजीवन सामान्य हुनसकेको छैन। विद्युत् सेवा र सञ्चार सम्बन्ध टुटेका कारण थप समस्या भएको छ, उनले जारी गरेको अपिलमा भनिएको छ। 

यस गाउँपालिका क्षेत्रमा तीन जनाको मृत्यु भएको थियो। बाढीका कारण पालिकाका पाँचवटा वडामा करिब १५० घर पूर्ण तथा एक सयभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। पालिकाभित्रका मुख्य तथा वैकल्पिक सडक पूर्ण रूपमा क्षतिग्रस्त छन्। विद्यालय, पसल, पानीघट्ट, विद्युत् पोल, माछा फर्म, कल्भर्ट, साँघु र प्रहरी चौकीमा समेत क्षति पुगेको छ। पालिकामा भएको सम्पूर्ण क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ। 

यस्तै, गोदावरी नगरपालिका पनि विपद् प्रभावितलाई उद्धारपछि राहत वितरणमा जुटिरहेको छ। सँगसँगै प्रभावितलाई पुनःस्थापना र पुनःनिर्माणको योजना बनाउने काम भइरहेको तर, दशैंअघि सम्म पुनःनिर्माण गर्नसक्ने अवस्था नरहेको उपप्रमुख मुना अधिकारीले बताइन्। 

'अहिले हामीले प्रभावित र प्राविधिकको राय सङ्कलनको काम गरिरहेका छौँ। तत्पश्चात् पुनःनिर्माणबारे योजना बनाएर काम अगाडि बढाउँछौँ, उनले भनिन्, 'हामीले आफ्नो स्रोतसाधनले भ्याएसम्मको काम गर्छौं। बाँकी कामका लागि सङ्घीय र प्रदेश सरकार तथा विभिन्न संघसंस्थालाई आग्रह गर्छौं।'  

बाढीपहिरोका कारण यस नगरपालिका वडा नम्बर ७, ५, ६, ३ र १० मा बढी क्षति भएको छ। विपद्का कारण २० जनाको मृत्यु भएको छ। वडा नम्बर ७ मा अझ बढी समस्या छ। यहाँ झन्डै ३०० परिवार विस्थापित भएको नगरपालिकाले अनुमान गरेको छ। 

'यो पालिका पहाडी भूभागसँग जोडिएको छ। दुर्गम ठाउँ छ। विगतदेखि नै पहिरोको जोखिम  रहेका स्थानमा यसपटक निकै क्षति भयो। बाटोघाटा अवरूद्ध छन्, उपप्रमुख अधिकारीले भनिन्, 'शुक्रबारदेखि प्रायः जस्तो वडामा ट्र्याक खोलेर एकतर्फी सडक सञ्चालनमा आएका छन्। कतिपय वडामा सडक अवरूद्ध हुँदा क्षतिको यकिन विवरण आउन बाँकी छ। टीकाभैरवको अवस्था नाजुक छ। घर, विद्यालय, पुललगायत सडक पहिरोले क्षतिग्रस्त छ।'  

यहाँ नगरपालिकाले विभिन्न गैरसरकारी संघसंस्थासँग समन्वय गरेर प्रभावितहरूलाई खाद्यान्न, म्याट्रेस, त्रिपाल, लत्ताकपडा वितरण गरिएको जनाएको छ। -(सिर्जना राई/रासस)

असोज १८, २०८१ शनिबार २०:४४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।