युक्रेनी सेनाको महत्वपूर्ण मानिने नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

युक्रेनी सेनाको महत्वपूर्ण मानिने नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

एजेन्सी : रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ।

रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई स्वतन्त्र बनाएको रक्षा मन्त्रालयले जनाएको हो। रूसी सेनाको खतरामा रहेको पोक्रोभस्क नजिक अवस्थित यो गाउँ युक्रेनी सेनाका महत्वपूर्ण केन्द्र हो। 

गोर्लिभ्का सहरमा खटिएका रूसी अधिकारीहरूले शनिबार युक्रेनी पक्षको गोलाबारीमा ११ जना सर्वसाधारण घाइते भएको बताएका छन् भने रूसले युक्रेनको सिमानामा रहेको बेलगोरोड, भोरोनेज र कुर्स्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ। 

भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले एक जना  सर्वसाधारणलाई घाइते बनाएको बताए। 

यसैगरी युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी हमलामा दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राम मार्फत जानकारी गराए। 

रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनमा आक्रमण सुरू गरेको थियो। त्यसपछिको श्रृङ्खलाबद्ध आक्रमणपछि, रूसी सेनाले सन् २०२३ देखि युक्रेनको जमिन कब्जा गरी हाल निरन्तर युद्धलाई अगाडि बढाइ रहेको छ। 

असोज १८, २०८१ शनिबार २०:२३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।