दीपा-दीपकलाई झड्कामाथि झड्का, छक्कापन्जा सिरिजकै कमजोर ट्रेलर

दीपा-दीपकलाई झड्कामाथि झड्का, छक्कापन्जा सिरिजकै कमजोर ट्रेलर

काठमाडौँ : हल्काफुल्का सामाजिक विषयमा कमेडीको तड्का मिसाएर फिल्म सफल बनाउँदै आएको छक्कापन्जा टिम पाँचौँ फिल्मसम्म पुग्दा सबैभन्दा कमजोर देखियो।प्रमोसन गीत होस् या प्रचार प्रतिस्पर्धी दुई फिल्मबाट झड्का पाएकै थियो। शनिवार सार्वजनिक गरेको कमजोर ट्रेलरले थप झड्का भेट्ने पक्कापक्की छ।

छक्कापन्जा सिरिजको यो सबैभन्दा कमजोर ट्रेलर त हो नै, फिल्म प्रचारमा निर्माण टिम जति फिक्का देखिएको थियो ट्रेलरमा त्यो भन्दा बढी फिक्का देखियो।

कमजोर अभिनय, कमजोर कथामा उहीँ माग्ने बुढाको पुरानो फ्लेभर। पाँचौँ फिल्मसम्म पुग्दा पनि कथा उहीँ विवाहकै वरिपरि घुमेको ट्रेलरमै देखिन्छ।

इमान्दार सरकारी कर्मचारीले भोग्ने सामाजिक कथामा कमेडीको तड्का दिने प्रयास गरेको ट्रेलरबाटै देखिन्छ तर प्रयास निकै फितलो। ट्रेलरमा माग्ने बुढाले हल्का रमाइलो त भनेका छन्। तर यो पाली छक्कापन्जा हेरेर दर्शकले रमाइलो गर्ने जस्तो सङ्केत भने देखिएन ट्रेलरमा।

ट्रेलरमा आएका प्रतिक्रियाले पनि सङ्केत सुखद देखाएको छैन। अधिकांश प्रतिक्रिया नकारात्मक छ।

फिल्म प्रमोसनमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी र दीपा देखाएकाले कतै कुनै सर्प्राइज छ कि भन्ने आशमा थिए दर्शक। तर त्यो सरप्राइज नि फिस्स भयो।

कलाकार प्राय पुरानै छन्। नयाँ कलाकार दमन रुपाखेती र ब्रजेश खनाललाई माने भयो। ट्रेलरमा ब्रजेशले हल्का ठाउँ पाएका छन्। दमन लुकेका छन्।

वर्षाको बाउ बनेका राजाराम पौडेल पुरानै फ्लेवरमा सुनिएका छन्। वर्षा ट्रेलरमै लाउड सुनिएकी छिन्। पुरै फिल्ममा अभिनय कस्तो होला!

छक्कापन्जामा दीपकराज राजाको पात्र बन्ने गरेका छन्। यस पटक राजाको सहयोगी बुद्धि तामाङ ज्वाइँ साबतिर लागेका छन्। जीतु नेपाल चौथो सिरिजबाटै बाहिरिइसके।

पात्रका हिसाबले हेर्ने हो भने प्रतिस्पर्धी फिल्म ज्वाइँ साब नै रिच देखिन्छ। पटकथा र कथ्य शैली कस्तो छ कुन्नि, तर कथाको हिसाबमा पनि ज्वाइँ साब बलियो देखिन्छ ट्रेलरको हिसाबले।

दीपक-दीपाको ब्रान्ड बलियो छ। निर्माणको हिसाबमा हेर्ने हो भने छक्कापन्जा ४ निकै बलियो फिल्म थियो। पाँचमा आएर दीपा नै निर्देशनमा फर्कँदा उनले यो सिरिजकै सबैभन्दा कमजोर फिल्म दिने जोखिम ट्रेलरले देखाएको छ। ट्रेलरजस्तै फिल्म पनि फितलो रैछ भने कलाकारको रूपमा सोलो अभिनय गरेका जितुले बाजि मार्न सक्छन् यो पाली।

असोज १८, २०८१ शनिबार २०:१९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।