मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो, बाटोमा अलपत्र परेका एक हजार बढी यात्रु गन्तव्यतिर लागे

मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो, बाटोमा अलपत्र परेका एक हजार बढी यात्रु गन्तव्यतिर लागे

खोटाङ : अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरूद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ। हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरूद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि आज खुलाइएको हो।

हलेसी-जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो हटाइएपछि अवरूद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए। 

'अवरूद्ध सडक खुलाउन दिनरात नभनी दुईवटा डोजर प्रयोग गरेका थियौँ। पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र पर्नुभएको थियो। पहिरो पन्छाएर सडक खेलेसँगै अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन्, उनले भने। 

सडक अवरूद्ध भएपछि काठमाडौं तथा तराईका जिल्लाबाट खोटाङ आएका साना तथा ठूला गाडी जयरामघाट, डौँठेखेला र दिक्तेल-भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटारलगायतका ठाउँमा रोकिएका थिए। पहिरोले सडक अवरूद्ध भएर बीच सडकमा गाडी रोकिएपछि त्यसमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए। 

दिक्तेल-हलेसी-जयरामघाट हुँदै काठमाडौं तथा तराईका जिल्ला जोड्ने सडक पटकपटक अवरूद्ध हुँदै आएपछि विकल्पको रुपमा दिक्तेल-चखेवाभञ्ज्याङ सडकलाई निर्वाधरुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ। त्यसका लागि प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मत शुरू गरिएको छ। 

मध्यपहाडी लोकमार्ग बाहेक जिल्लाका सबै स्थानीय तहसँग जोडिएका अन्य सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन्। दशैं, तिहार मान्न काठमाडौं तथा तराईका विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दालाई सहजरूपमा घरसम्म पुग्ने वातावरण मिलाउन जिल्लाका दश वटै स्थानीय तहले अवरूद्ध सडक मर्मत सुरू गरेपनि अहिलेसम्म सम्भव भएको छैन। 

असोज १८, २०८१ शनिबार १९:५५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।