'विपद्को पूर्वतयारी गर्न २० अर्ब चाहिन्छ, हामीसँग दमकल किन्ने पैसा पनि छैन'

'विपद्को पूर्वतयारी गर्न २० अर्ब चाहिन्छ, हामीसँग दमकल किन्ने पैसा पनि छैन'

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित उनले राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ आवश्यक हुने भन्दै बजेटको सीमाभित्र सम्भव नभएको बताए।

उनले भने, ‘राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ चाहिन्छ। आगलागी भयो भने गतिलो दमकल छैन। बाहिरबाट ल्याउनुपर्छ। यसबारे अर्थलाई भन्दा सिलिङ छैन भन्ने कुरा आउँछ। गृह मन्त्रालय भित्रबाट वर्षको तीन/चार करोडमात्र चालु पुँजी आउँछ। त्यो पैसाले सम्भव छैन। यसपालि पनि मनसुनमा पाँच सय मिटर बेलिब्रिज चाहिन्छ भनेका थियौं। बजेटको सीमाभित्र सम्भव नै छैन।’ 

उनले प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो खालको जोखिमलाई घटाउन सकिने बताए। 

उनले भने, ‘विपद् महाशाखा र प्राधिकरण पनि हुँदा अन्यौलको अवस्था भयो। यसलाई नीतिगत तरिकाले मिलाउनुपर्छ। प्राधिकरणलाई रिर्फम गरेर मिलाउने हो भने प्रक्रियागत ढिलाई जुन भइरहेको छ त्यसलाई कम गर्न सक्छौं।’ 

प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो जोखिमलाई घटाउन सकिने उनको भनाई छ।  

असोज १८, २०८१ शनिबार १९:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।