डा. डनजनको उपचार अनुभव : शल्यक्रिया गरेपछि ती पुरूषको मुख नै बांगिएर तनाव

डा. डनजनको उपचार अनुभव : शल्यक्रिया गरेपछि ती पुरूषको मुख नै बांगिएर तनाव

डा. डनजन (डीबी) लामिछाने नाक, कान, घाँटी विशेषज्ञ हुन्। सयौं बिरामीको उपचार गरेका उनले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन् :

000 

शल्यक्रिया गरेपछि ती पुरूषको मुख नै बांगिएर तनाव
शल्यक्रियापछि एकजना बिरामीको मुख नै बांगिएको प्रसंग डा. डनजन कहिल्यै भुल्दैनन्। प्रसंग केही समयअघिको हो। करिब ३४ वर्षका पुरूष उपचारका लागि अस्पताल पुगेका थिए। स्वास्थ्य परीक्षण गर्दा ती बिरामीको कान पाकेको अवस्था थियो। संक्रमणको कारण मुखको नसामासमेत समस्या थियो। 

समस्या यति जटिल भइसकेको थियो की घाउ भएर कान र मस्तिष्क जोड्ने हड्डीसमेत प्वाल परिसकेको थियो। कानदेखि मुखसम्मको हड्डीको नसासमेत गलिसकेको थियो। 

ती बिरामीको शल्यक्रिया गरी उपचार गर्नुपर्ने थियो। तर, कानको नसामा सानो चोट लाग्दा पनि मुख बांगो हुने जोखिम पनि थियो। तथापि, जोखिम मोलेरै डा. डनजनले ती बिरामीको कानको शल्यक्रिया सुरू गरे। करिब तीन घण्टाको मेहनतपछि शल्यक्रिया सफल भयो। 

तर, उनले शल्यक्रियापछि ती बिरामीको जे नहोस् भनेर उनले सोचेका थिए, भइदियो त्यही। अर्थात् ती बिरामीको शल्यक्रिया गरेको एक घण्टामा त मुख नै बांगियो। त्यो देख्दा डा. डनजन आत्तिए। तरपनि उनले बिरामीलाई ठिक हुनसक्ने आशा देखाउँदै सम्झाई-बुझाई गरे। 

त्यसपछि डा. डनजनले कसरी ती बिरामीको बांगिएको मुख सही ठाउँमा ल्याउने भनेर सोच्न थाले। त्यो विषयमा उनले थप अध्ययन गरे। सिनियरहरूसँग सोधखोज गर्न थाले। दुई दिनसम्म उनलाई खाना पनि खान मन लागेन। उनी राम्रोसँग सुत्न पनि सकेनन्। 

उनले सोचे, ‘बिरामीको मुखै बांगो भयो भने त वर्वाद हुन्छ, जसरी पनि मैले मुख ठिक ठाउँमा ल्याइदिनुपर्छ।’ 

करिब तीन दिनको अथक अध्ययन-अनुसन्धान र सिनियरसँगको छलफलपछि डा. डनजन ती बिरामीको गाला सहि ठाउँमा ल्याउन पुनः शल्यक्रिया नै गर्नुपर्ने निष्कर्षमा पुगे। त्यसपछि उनले बिरामीको कानको शल्यक्रिया थाले। शल्यक्रिया सफल भयो। आवश्यक शल्यक्रिया तथा औषधि उपचारपछि बिरामीलाई डिस्चार्ज गरियो। 

करिब डेढ महिनामा बिरामी फलोअपका लागि अस्पताल आउँदा बांगिएको मुख ठिक ठाउँमा आइसकेको थियो। बिरामीको मुख ठिक ठाउँमा आएको देख्दा उनलाई साह्रै खुसी लाग्यो। पछि ती बिरामीको कान र मुख दुवै समस्या ठिक भएको डा. डनजनले सुनाए। 

घाँटीको क्यान्सर भनेर आत्तिएको गाउँका बिरामीलाई भारतमा उपचार गरेपछि....
प्रसंग डा. डनजन भारतमा इएनटी सर्जरी गर्दाकै हो। पोखराका करिब ५० वर्षका कपडा व्यापार गर्ने पुरूषको घाँटीमा समस्या भएछ। उनले पोखराका धेरैवटा अस्पतालमा घाँटीको जाँच गराएछन्। तर, एकिन कारण पत्ता लागेनछ। 

त्यसैले घाँटीको क्यान्सर नै भएको छ भन्ठानेर ती पुरूष भारतको चण्डिगढस्थित पोष्ट ग्राजुयट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजीआईमर)मा पुगेछन्। जहाँ डा. डनजन इएनी सर्जरी विषयमा एमएस अध्ययन गरिरहेका थिए। 

ती पुरूषलाई घाँटीमा केही अड्किएको जस्तो अप्ठेरो महसुस हुन्थ्यो। घरीघरी आवाज परिवर्तन भएको जस्तो पनि हुन्थ्यो। घाँटीको क्यान्सर भयो भन्ठानेर आत्तिएर उनलाई लिएर परिवार नै भारत पुगेछन्। डा. डनजनले पोखराबाट भारत पुगेका ती पुरूषको स्वास्थ्य जाँच गरे। 

सोधखोज गर्दै जाँदा पुरूष आफ्नै पोखरेली गाउँले रहेछन्। उनले स्वास्थ्य जाँच गर्दा क्यान्सर नभएको पत्ता लगाए। तर, नेपालबाट भारत पुगेकाले डा. डनजनले सिनियर कन्सल्टेण्ट चिकित्सकलाई देखाउनका लागि भोलिपल्टलाई बोलाए। 

नभन्दै, उनी भोलिपल्ट अस्पताल पुगे। डा. डनजनकै समन्वयमा सिनियर चिकित्सकले पनि ती पुरूषको घाँटीको जाँच गरे। तर, सिनियर चिकित्सकले पनि उनको घाँटीमा क्यान्सर नभएको निर्क्योल गरे। उनी धेरै बोलेका कारक घाँटीमा सामान्य समस्या भएको रहेछ। त्यसैले डा. डनजन र अन्य चिकित्सकले उनलाई कम बोल्न सुझाव दिँदै घाँटीको ‘भ्वास थेरापी’ र ‘भाइस रेष्ट’ गर्न सुझाव दिए। 

त्यसपछि ती पुरूष खुसी भएर नेपाल फर्किए। एकपटक दशैंमा पोखरास्थित घर फर्किएका बेला आफूले ती बिरामीलाई भारतमा हेरेको विषयमा ती पुरूषले तारिफ गर्दै डा. डनजनका आफन्तलाई सुनाएका रहेछन्। त्यो खबर सुन्दा उनलाई साह्रै आनन्द लाग्यो। 

मह र चामलको कोशेली
एक वर्षअघि पोखराभन्दा अलि माथि गाउँकी करिब १४ वर्षकी बालिकाको कानको उपचार गरेपछिको प्रसंग पनि डा. डनजन कहिल्यै भुल्दैनन्। एकदिन डा. डनजन ती बालिकाको गाउँभन्दा अलि माथि घुम्न गएका रहेछन्। उनी घुम्न गएको विषय स्थानीय स्वास्थ्य चौकी मार्फत ती बालिकाका बुवाआमाले थाहा पाएछन्। त्यसपछि फोन गरेर ती बालिकाका बुवा आमाले फर्किँदाखेर घरमा पस्न अनुरोध गरेछन्। 

घुमेर फर्कँदैगर्दा पनि ती बालिकाका बुवाआमाले डा. डनजनलाई फोन गरेछन्। ती बालिकाको घर नजिकै आइपुग्दा रातीको नौ बजिसकेको थियो। त्यतिबेलासम्म पनि बालिकाका बुवाआमाले डा. डनजन झर्ने बाटोमा कुरिरहेका थिए। उनी चढेको गाडी यही हो भनेर थाहा पाएपछि उनीहरुले रोकेछन्। 

त्यसपछि उनलाई ती बालिकाका बुवाआमाले एउटा ठूलो बोरामा स्थानीय चामल, दुई बोतल मह, सागपात गाडीमा हालिदिएछन्। 

ती बालिकाको उपचार गर्दा त अस्पतालले पैसा नै लिएको थियो। तर, उपचार गरी छोरीको कान निको बनाउने चिकित्सकप्रति कृतज्ञ हुँदै ती बालिकाका बुवाआमाले कोशोली हालिदिएकोप्रति डा. डनजन अलि भावुक बने। श्रद्धासाथ दिएको कोशेली उनले स्वीकार्दै धन्यवाद दिएर गाडी चढेर हिँडे। अनि गाउँका मान्छे कति दयालु भएका होलान् भन्ने सोचेर उनी छक्क परे। 

कोरोनाको जोखिममा ती बच्चाको घाँटीमा प्वाल बनाएर श्वास फेराउँदा
कोरोनाकालको प्रसंग हो। अस्पताल पुर्याइएका एक बच्चा श्वास फेर्न सक्ने अवस्थामा थिएनन्। ती बच्चालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको थियो। घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द हुने अवस्थामा पुगेको थियो। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटीमा प्वाल पारेर पाइप (ट्युब) राखी श्वासप्रश्वास गराइयो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘ट्रयाकेयल स्टेनोसिस’ हुनसक्ने सम्भावनका रुपमा लिइन्छ। 

घाँटीबाट प्वाल बनाएर श्वास फेराउने विधिलाई ‘ट्याकेस्टोमी’ भनिन्छ। ती बच्चाको फोक्सोमा पनि समस्या परिसकेको थियो। यसरी घाँटीमा प्वाल बनाएर कोरोना संक्रमणको जोखिमबाट बच्दै ती बच्चालाई बचाउनु त्यो बेला चुनौतीपूर्ण थियो। तर, कोरोनाको जोखिम नै मोलेर ती बच्चाको घाँटीमा प्वाल बनाई सहज श्वासप्रश्वास गराउन सफल भएको उनले सुनाए। 

शल्यक्रिया गर्दागर्दै हृदयघात भएपछि...
करिब ६४ वर्षका बाजेको घाँटीको क्यान्सरको शल्यक्रिया गर्दागर्दै हृदयघात भएको प्रसंग पनि डा. डनजन कहिल्यै भुल्दैनन्। प्रसंग उनी भारतमा इएनटी अध्ययन गर्दाको हो। 

शल्यक्रिया गर्दागर्दै हृदयघात भएका ती बाजेलाई सिपिआर लगायतको उपचार विधि अपनाई मुटुको गति फर्काइयो। अनि करिब १२ घण्टा लामो मेहनतपछि ती बाजेको शल्यक्रिया सफल भयो। र, ती बाजेलाई आइसीयुमा सारियो। अनि बचाएर केही दिनपछि घर पठाइयो। पछि ती बाजे हिँडेरै फलोअपमा आएका थिए। बाजेको स्वास्थ्य अवस्था ठिक थियो। 

योगाभ्यासपछि अब्बल अध्ययन
डनजन लामिछाने २०४४ मा पोखरमा जन्मिएका हुन्। उनले पोखराकै स्टेपबाईस्टेप बोर्डिङ स्कुलबाट २०५९ मा एसएलसी गरे। त्यसपछि उनी अध्ययनका लागि काठमाडौं आए। काठमाडौंको क्यापिटल कलेज (सिसिआरसी)बाट उनले प्लसटु गरे। उनका बुवाआमा पेचाले शिक्षक हुन्। त्यसैले उनको परिवारमा अध्ययनको राम्रो वातावरण थियो। 

तर, डनजन भने अध्ययनमा औषत विद्यार्थी थिए। प्लसटु अध्ययन गरेपछि अब के पढ्ने भन्नेमा उनी दुविधामा परे। डाक्टर नै पढ्छु भन्ने उनले सोचेका थिएनन्। तर, साथीहरूको लहलहैमा डनजन एमबीबीएस अध्ययनको छनोट परीक्षाको तयारी कक्षा लिन थाले। अध्ययनमा भन्दा रमाइलोमा नै उनी आनन्द लिइरहेका थिए।

तयारी कक्षापछि डनजनले एमबीबीएस अध्ययनका लागि विभिन्न ठाउँमा छनोट परीक्षा पनि दिए। तर, एमबीबीएस अध्ययनका लागि छनोट भएनन्। अनि उनी त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययनका लागि भर्ना भए। उनलाई पैसा तिरेर एमबीबीएस अध्ययन गर्ने इच्छा थिएन। 

तर, निरन्तर तीन वर्षसम्म छनोट परीक्षा दिँदा पनि छात्रवृत्तिमा अध्ययनका लागि छनोट भएनन्। त्यसैले प्लसटु सकेको चौथो वर्षमा भने उनले पैसा नै तिरेर भएपनि एमबीबीएस अध्ययन गर्ने निष्कर्षमा पुगे। 

त्यसपछि डनजन एमबीबीएस अध्ययनका लागि छनोट भएर अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) मेडिकल कलेजमा पुगे। सन् २००९ मा एमबीबीएस अध्ययन थालेर उनले एमबीबीएस अध्ययन सन् २०१४ मा सके। त्योबेला त्रिभुवन विश्वविद्यालयको आन्दोलनका कारण केही समय अध्ययन लम्बिएको उनले सुनाए। 

एमबीबीएस अध्ययनको पहिलो वर्षमा एक नम्बर नपुगेर उनी फेल भए। त्योबेला एमबीबीएस अध्ययन पढ्न सकिँदैन की भन्ने पनि उनलाई महसुस भयो। अध्ययन बिग्रिएको समयमा उनलाई एमबीबीएसकै एकजना सिनियरले रमाइलो हुन्छ जाउँ भनेर योगाभ्यास सम्बन्धी एउटा कार्यक्रममा लिएर गए। त्यहाँ गएर उनले योगा पनि गरे। उनले त्यहाँ छ दिनसम्म योगा सिके।

 

ती योगा सिकाउने गुरूले योगा गर्दा पढाइलाई फाइदा हुन्छ भनेका थिए। पढाई बिग्रिरहेको बेला त्यस्तो सुनेपछि उनले गुरूले सिकाए अनुसार राम्रोसँग योगा गर्न थाले। अनि त उनको अध्ययन र जीवनशैली नै परिवर्तन हुँदै गयो। 

६ दिन योगा सिकेपछि त उनलाई मनै शान्त भएको महसुस भयो। त्यो योगा अभ्यास सिकिसकेपछि डनजनले विशेषगरी योगाको ‘सुदर्शन क्रिया’लाई निरन्तरता दिए। त्यसैले दैनिक बिहान आधा घण्टा सुदर्शन क्रिया गर्ने अनि अध्ययनमा लाग्न थाले उनी। 

त्यसपछि डनजनले एमबीबीएस पहिलो वर्षको पुनः परीक्षा दिए। उनले राम्रो अंककासाथ एमबीबीएस पहिलो वर्ष उत्तीर्ण गरे। अनि उनलाई पनि योगाले अध्ययनमा राम्रो लाभ मिल्ने रहेछ भन्ने महसुस भयो। त्यसपछि त उनी एमबीबीएसको कुनै परीक्षामा पनि फेल भएनन्। उनलाई सेवा भाव पनि जाग्रित हुँदै गयो। अस्पतालमा आर्थिक लगायत समस्या भएका बिरामीलाई सहयोग गर्ने जस्ता काममा पनि उनी सक्रिय हुन थाले। 

इएनटी सर्जरी अध्ययन गर्न पाउँदा दिल्ली एयरपोर्टमा खसेका आँसु
एमबीबीएस सकेपछि डा. डनजनले केही समय निजी अस्पतालमा काम गरे। तर, उनलाई थप अध्ययन गर्नु छँदैथियो। त्यसैले चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनको तयारीका लागि बिहान बेलुका तीन घण्टा ध्यान तथा योगजस्ता व्यायाम गर्ने अनि बाँकी पाँच घण्टा सुत्नेबाहेकको समय उनी पढ्थे। छात्रवृत्तिमा अध्ययनका लागि भोक, तिर्खा र निन्द्रा पनि बिर्सिएर उनले निक्कै कठिन मेहनत गरे। 

चिकित्सा शास्त्रको स्नातकोतर तहको अध्ययनका लागि भारतको चण्डिगढस्थित पीजीआईमरमा छनोट परीक्षा दिएर उनी पर्सिपल्ट नेपाल  फर्कनका लागि दिल्ली एयरपोर्टमा आइपुगेका थिए। पीजीआईमर नै अध्ययन गरिरहेका एक जना साथीले डनजन एयरपोर्टमा भएका बेला फोन गरेर ‘ओइ तेरो त नाम निस्कियो’ भनेछन्। चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि छनोट भएको खबर सुन्दा उनका आँसु अडिएनन्। उनी भावुक बने अनि एयरपोर्टमा नै उनका आँखाबाट आँसु खसे। 

त्यसपछि उनले घरमा बुवाआमालाई फोन गरेर एयरपोर्टबाटै त्यो खुसीको खबर सुनाए। अनि हवाइजहाज चढेर घर आए। 

त्यसको एक महिनापछि उनी स्नातकोत्तर तरहको नाक, कान घाँटी (इएनटी सर्जरी) विषयमा एमएस अध्ययनका लागि सन् २०१७ मा भारत पुगे। जीवनमा पहिलो पटक छात्रवृत्तिमा पढ्न पाएको खुसीको त्यो क्षण उनी शब्दमा वर्णन गर्न सक्दैनन्। त्यो बेला इएनटी सर्जरी विषय अध्ययनका लागि नेपालमा ५० लाख भन्दा बढी खर्च हुन्थ्यो। तर, उनको खर्च नै भएन। उनको अध्ययन पनि राम्रो भयो। सन् २०१९ मा तीन वर्षे इएनटी सर्जरीमा एमएस सकेर डा. डनजन नेपाल फर्के। 

इएनटी सर्जरी विषयमा एमएस सकेपछि डा. डनजन चितवनको चितवन मेडिकल कलेजमा काम गर्न थाले। त्यहाँ उनले करिब एक वर्ष चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने अनि बिरामीको उपचार गर्ने काम गरे।

चितवनपछि डा. डनजन पोखरा नै फर्केर ‘हरियो खर्क’ अस्पताल अनि दीर्घायु अस्पतालमा काम गर्न थाले। हालसम्म उनी यि दुवै अस्पतालमा इएनटी सर्जनका रुपमा कार्यरत छन्। 

कानको समस्याको उपचार गर्ने, नाकको बांगिएको हड्डी मिलाउने, नाकमा मासु पलाएको र नाकको क्यान्सरको लगायतको शल्यक्रिया र औषधि उपचारमा पनि व्यस्त हुन्छन् उनी। पिनासको समस्या, घाँटीको बोलीको समस्या, टन्सिल, थाइरोइड, घाँटीको क्यान्सर जस्ता समस्याको शल्यक्रिया तथा औषधि उपचार गर्नु डा. डनजनको दैनिकी हो। 

असोज १९, २०८१ शनिबार १९:२०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।