'कहिले कांग्रेस, कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर भयो'

'कहिले कांग्रेस, कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर भयो'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन्।
 
पार्टीको केन्द्र दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तक्रियालाई सम्बोधन गर्दै उनले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको बताए। 

अब देशब्यापीरुपमा एकल प्रतिस्पर्धामा जानेगरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनको भनाई छ। 

उनले आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको भन्दै आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताए। 

पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको भन्दै अहिले देशब्यापी रुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण साथै जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने पनि उनको भनाइ छ। 

उनले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिँदै जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताए।
 
अध्यक्ष दाहालले यो वर्ष दशैं , तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरूलाई निर्देशन दिए। 

असोज १८, २०८१ शनिबार १६:२२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।