चाडबाड र संकटका बेला कुनैपनि विमान होल्ड नगर्न नागरिक उड्डनमन्त्रीको निर्देशन

चाडबाड र संकटका बेला कुनैपनि विमान होल्ड नगर्न नागरिक उड्डनमन्त्रीको निर्देशन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरूद्ध हुने गरि कुनैपनि गतिविधि नगर्न आग्रह गरेका छन्।
 
विमान परिचालकहरूको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका दुईवटा उडान रद्द भएका थिए। ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक/परिचालिका) हड्तालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।

छलफलमा मन्त्री पाण्डेले भने, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ। उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन। यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन? यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौं। चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस्।’

मन्त्री पाण्डेसँग त्यस कुरामा विमान परिचालिका एवं परिचालकहरूले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाए। 

निगममा कार्यरत परिचालिका र परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

त्यस मुद्दाको किनारा लागेको छैन। निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए। 

असोज १८, २०८१ शनिबार १४:३३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।