दक्षिणपछि उत्तरी लेबनानमा पनि इजरायली सेनाको आक्रमण शुरू, दुई हजारभन्दा बढी मारिए

दक्षिणपछि उत्तरी लेबनानमा पनि इजरायली सेनाको आक्रमण शुरू, दुई हजारभन्दा बढी मारिए

एजेन्सी : दक्षिणी लेबनानपछि इजरायली रक्षा बल (आईडीएफ)ले अब उत्तरी लेबनानमा पनि हवाई आक्रमणलाई तीव्र बनाएको छ।

मिडिया रिपोर्टका अनुसार इजरायली सेनाले त्रिपोलीको बेददवी क्षेत्रमा प्यालेस्टिनी शरणार्थी शिविर नजिकैको एउटा भवनमा हवाई आक्रमण गरेको थियो।

हमासको सैन्य शाखा अल कासिमका नेता सईद अताल्लाह अली यस हमलामा मारिएका छन्। यसमा उनको परिवारका थप तीन जनाको मृत्यु भएको छ।

अल-कासिम ब्रिगेडले ७ अक्टोबरमा इजरायलमा आक्रमण गरेको थियो। 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता भएका आक्रमणमा २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यीमध्ये धेरैजसो मृत्यु पछिल्लो दुई हप्तामा भएको हो।

लेबनानी सरकारले इजरायलले सर्वसाधारणलाई लक्षित गरी दर्जनौं महिला र बालबालिकाको हत्या गरेको आरोप लगाएको छ।

इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका २५० लडाकुलाई मारेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले गत ४ दिनमा २५० हिजबुल्लाह लडाकुलाई मारेको शुक्रबार बताएको छ।

जसमा ५ बटालियन कमाण्डर, १० कम्पनी कमाण्डर, ६ प्लाटुन कमाण्डर रहेका छन्। उसका अनुसार हिजबुल्लाहका दुई हजारभन्दा बढी हिजबुल्लाह सैन्य लक्ष्यहरू ध्वस्त भएका छन्।

इजरायली हमलाका कारण मानिसहरू लेबनानबाट सिरियामा भागिरहेका छन्। इजरायली हवाई आक्रमणका कारण लेबनानलाई सिरियासँग जोड्ने राजमार्ग भाँचिएको छ।

सीएनएनका अनुसार लेबनानबाट ३ लाख मानिस सिरिया गएका छन्। लेबनान सरकारका अनुसार हालसम्म १२ लाखभन्दा बढी मानिसले देश छोडेका छन्। इजरायली आक्रमण बढ्दै जाँदा यो संख्या बढ्दै गएको छ।

असोज १८, २०८१ शनिबार १४:०९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।