मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध

मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध
फाइल तस्बिर

मन्थली : लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली-काठमाडौं यातायात आज बिहानदेखि अवरुद्ध भएको छ।

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा तामाकोशी नदी किनारमा सडक भासिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।

मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक-काठमाडौंसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो।

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौं जाने र तीनै स्थानका लागि काठमाडौंबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन्।

अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

असोज १८, २०८१ शनिबार १२:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।