एक्सन फिल्मबारे भ्रममै देखिए बिराज, अभिनय नभई मासुको भारीले मात्र चल्छ त फिल्म !

एक्सन फिल्मबारे भ्रममै देखिए बिराज, अभिनय नभई मासुको भारीले मात्र चल्छ त फिल्म !

काठमाडौँ : आफ्नो सन्तान नराम्रो लाग्ने अभिभावक को होलान् र! मेरो सन्तान राम्रो छैन भन्ने अभिभावक दुर्लभै हो। ल हेर्नुस् त अभिनेता बिराज भट्टलाई उनलाई आफ्नो छोरा केजिएफ अनि सलारको हिरोभन्दा कम लागेकै छैन।

अझ बाघ रे बाघ। बिराजको छोरा समीरको बडी सलारको हिरो वा केजिएफको हिरो भन्दा राम्रो लागेको हुन सक्छ रे।

प्रसङ्ग फिल्म ‘१२ गाउँ’को। यो बिराजको निर्देशनमा डेब्यु फिल्म हैन। साङलो बनाएर निर्देशनमा फ्लप यात्रा सुरु गरिसकेका उनको छोराको भने भने यो डेब्यु फिल्म हो। दशैमा छक्कापञ्जा ५ अनि ज्वाइँ साबसँग एकै दिन रिलिज हुन लागेको फिल्म एक्सन जनाराको हो।

फिल्मको प्रचार सामाग्रीहरूमा निर्माण टिमले फिल्मको कन्टेन्ट अनि समीरको अभिनयतिर ध्यान दिएका छैनन्। पुरै ज्यानमा फोकस छन्। बिराजलाई पनि छोराको ज्यानकै भर रहेछ फिल्म चल्न। अरे, सिक्स प्याकको भरमा फिल्म चल्ने भए त समीर भन्दा एकसाएक बडिबिल्डर भेटिन्छन् हो जिम सेन्टरतिर। अनि सलार होस् या केजिएफ हिरोको ज्यानले मात्र फिल्म चलेका हुन् त?

एक्सनकै भरमा फिल्म चल्ने भए निखिल किन रिटायर्ड हुन्थे र। अनि बिराज नै नेपाली फिल्म क्षेत्र छाडेर किन भोजपुरी फिल्मतिर लाग्नुपर्थ्यो र। तर बिराजमा ज्यान भए फिल्म चलिहाल्छ भन्ने भयङ्कर भ्रम रहेको बिहीबारको पत्रकार सम्मेलनमा देखियो।

छोराको ज्यान गजब रहेकाले फिल्म भयङ्कर चल्ने भ्रममा देखिए उनी। नेपाली दर्शक साउथको एक्सन फिल्म हेरेर रमाइरहेको र १२ गाउँलाई साउथका फिल्मसँग तुलना गरेको भन्दै मक्ख देखिए उनी।

साउथको जस्तै भनेर नेपालमा कस्ता फिल्म बन्छन् भन्ने उदाहरण रावायणले देखाइसकेको छ जुन डब्बा भयो। फिल्ममा एक्सनको भूमिका नहुने हैन। अझ नेपालमा त पछिल्लो समय एक्सन फिल्मको खडेरी लागेको छ। तर एक्सन फिल्म भनेको डब्लुडब्लुएफ जस्तो आउने अनि रिङमा प्रतिस्पर्धीलाई पछार्ने मात्र त पक्कै हैन।

कथा अनुसार द्वन्द्व सहज छ छैन, हावा तालमा डाङडुङ मिसाएको हो कि कथाको माग अनुसार सुहाउँदो राखेको हो, कलाकारको अभिनय सुहाउँदो छ या छैन सबै पक्षले फिल्म चल्छ या चल्दैन भन्ने निर्णय गर्ने हो।

अनि डाङडुङ पाराको फिल्म भन्दैमा साउथको जस्तै फिल्म हुने हो र! कथा पनि चाहिन्छ नै। जब नेपाली हलमा सहजै साउथ इन्डियन फिल्म रिलिज हुन्छन् त साउथ जस्तै फिल्म किन हेर्छन् दर्शकले? हेर्नै मन लागे साउथ फिल्म नै हेरिहाल्छन् नि हो। एडिडासको जुत्ता लगाउनेले एडिडास जस्तै जुत्ता खोज्छ कि एडिडास? तर्क पनि गजव छन् बिराजका।

यसमा पनि बिराज राम्रै भ्रममा देखिए। उनी अझैँ भोजपुरी फिल्मको ह्याङमै छन् जस्तै देखियो बिहीबारको उनको प्रतिक्रियाले। यसले त १२ गाउँको नतिजा पनि ‘साङ्लो’ को जस्तै हलमा पानी भन्न नपाउने अवस्था आउन बेर छैन।

किनकि न छक्कापञ्जा टिम जोक हो न जितु नेपाल। सबैभन्दा महत्त्वपूर्ण पाक्कपुक्क ज्यानले मात्र फिल्म चल्ने हैन क्या बिराजजी। अभिनय, कथा लगायतका पक्ष पनि चाहिन्छ।

असोज १७, २०८१ शुक्रबार २२:१९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।