बल्खुमा सुमो व्यवसायीको लुट : प्रहरीकै अगाडि मनपरी भाडा असुली, गाडी गुडेपछि मात्रै दिन्छन् टिकट

बल्खुमा सुमो व्यवसायीको लुट : प्रहरीकै अगाडि मनपरी भाडा असुली, गाडी गुडेपछि मात्रै दिन्छन् टिकट

काठमाडौं : दशैंको लागि भनेर ल्याइएको विद्युतीय गाडी बल्खुबाट वीरगन्ज जान ठिक्क परेको थियो। त्यो गाडीको तेस्रो सिटमा बसिरहेकी युवतीलाई उकेराकर्मीले भाडा कति लियो? भनेर सोध्दा जवाफमा उनले भनिन्, ‘१५ सय रूपैयाँ’

त्यही गाडीको दोस्रो सिटमा रहेका युवकलाई उसैगरी कहाँ जाने हो? भनेर सोध्दा उनले वीरगन्जसम्म जाने अनि गाडी भाडा ८ सय ५० रूपैयाँ तिरेको बताए। ती युवकले यसो भन्नेबित्तिकै तेस्रो सिटमा बसेकी युवती अचम्मित भइन्।

‘आम्मा! तपाईंसँग आठ सय ५० मात्रै लियो? मसँग त १५ सय लियो,’ उनले भनिन्, ‘म त पैसा फिर्ता माग्छु। कसैलाई १५ सय अनि कसैलाई ८ सय ५०? अझ म त अझ सिमरा झर्ने मान्छे।’

ती दुई युवा-युवतीमात्र हैन, उकेराकर्मीले गरेको स्थलगत रिपोर्टिङमा बल्खुबाट तराई-मधेश चल्ने सुमो गाडीले दशैंको मुखमा सर्वसाधारणबाट मनपरी भाडा लिएको देखियो।

त्यसो त सरकारले भाडा निर्धारण नगरेको भने होइन। काठमाडौंबाट देशका विभिन्न स्थानमा जाने सवारीसाधनको वैज्ञानिक भाडा दर तोकिएको छ। तर, दशैंको मुखमा व्यवसायीहरूले बल्खुमा ब्रम्हलुट मच्चाइरहेकाे देखियो।

असोज १० देखि १३ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी-पहिरोले गर्दा काठमाडौंबाट आवातजावत गर्ने मुख्य नाकामा अझै सहज भएको छैन।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा-मुग्लिन मार्ग दशैंअघि सञ्चालन गर्न सकिने भए पनि पूर्व जाने बीपी राजमार्ग दशैंअघि खुलाउन नसकिने बताए।

‘नागढुंगा-मुग्लिन पूर्वपश्चिम जोड्ने प्रमुख सडक भएको हुनाले त्यसलाई बढी प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘बीपी राजमार्ग दशैं अगाडि खुलाउन सकिने परिस्थिति छैन।’

हालै पुनर्निर्माण नहुने र पहिरो जाने डर कायम रहेका बेला यात्रुहरू वैकल्पिक बाटो प्रयोग गरेर दशैंका लागि घर फर्किन तयार छन्। यसैको फाइदा लिँदै सुमो व्यवसायीले बढी रकम असुलिरहेका छन्।

कति छ खास भाडा? 
काठमाडौंबाट हेटौंडासम्म चल्ने सुमोको काउन्टर बल्खुचोकमा मात्रै दर्जन बढी छन्। काउन्टरपिच्छे भाडा फरक-फरक छन्।

यही विषयमा वेलकम सुमोमा कार्यरत कर्मचारी सुवास विष्टलाई ‘हेटौंडासम्मको भाडा कति हो?’ भनेर सोध्दा उनले अरू ग्राहकतिर हेर्दै उकेराकर्मीलाई खुसुक्क भने, ‘तपाईंलाई १३ सयमा मिलाइदिन्छु।’

सामान्य दिनमा हेटौंडासम्मको भाडा ६ सय ५० रहेको हरेराम हरेकृष्ण सुमो सेवाका चालक आशिष लामा बताउँछन्। अहिले भने उनले एक हजार रुपैयाँ लिने गरेका रहेछन्।

‘अरूबेला ६ सय ५० हो हेटौंडासम्मको तर, अहिले दक्षिणकालीको बाटो बन्द भएकोले अर्काे बाटोबाट जाँदा हजार लिएको छु। बाटो अलि लामो पर्छ, दक्षिणकालीको बाटो ३ घण्टामा हेटौंडा पुगिन्छ। अहिले ६ घण्टा लाग्ने भएकोले हजार लिएको’, उनले भने।

यसरी एकै स्थानमा जाने भाडा दरमा पनि व्यापक लुट मच्चिरहँदा भने सरोकारवाला निकाय भने मुकदर्शक बनेको छ।

काठमाडौँ गोगंबुस्थित नयाँ बसपार्कमा दसैँका लागि घर जान टिकट काट्न काउन्टरमा लामबद्ध यात्रु ।तस्बिरः हरिराम भेटुवाल/राससअसोज १७ मा भौतिक पूर्वाधारमन्त्री दाहाल आफैँ बढी भाडा लिने व्यवसायीको पक्षमा देखिए। कानून कार्यान्वयन गराउने तहमा बसेका उनी आफैँ अलिकति बढी लिँदा छाेड्न सकिने जस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए।

उनले भनेका थिए, ‘जनतालाई मार पर्नेगरी शुल्क बढेको कुरा पनि आएको छ। यातायातको कुरामा अलिकति बढी भयो भने, त्यसलाई छोड्न सकिन्छ। तर धेरै नै भयो भने अनुगमन गर्नुपर्छ।’

‘नियमित भाडाभन्दा धेरै भयो भने त्यसको अनुगमनको लागि अनुगमन संयन्त्र पनि बनाएका छौँ’ उनी भन्छन् ‘यसमा नेपाल प्रहरी, यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेका अवस्था छ’, उनले अगाडि थपे।

तर, उता सुमोवालाले भाडामा मनपरी गरिरहेको भएपनि काउन्टरमा अनुगमनको लागि न नेपाल प्रहरी देखियो न त यातायात व्यवस्था विभागका कर्मचारी नै। हुन त बल्खुमा ट्राफिक प्रहरीको विट नै छ।

अझ दशैं लक्षित भनेर कीर्तिपुरतिर जाने बाटोमा नागरिक सहायता कक्ष स्थापना गरिएको थियो। तर, सहायता कक्षकै पछाडि भने सुमोवालाको डिल चलिरहेको देखियो। 

कसरी लुटिन्छन् ग्राहक?
सामान्य दिनमा सुमोबाट तराई-मधेश जानुपर्यो भने  टिकट काट्नै चटारो पर्छ। तर, दशैंको मुखमा यात्रुलाई टिकटसमेत हातमा दिँदैनन् व्यवसायी। सिधै गाडी हिँडेपछि ड्राइभरले सबै यात्रुलाई टिकट हातमा थमाइदिन्छन् अनि यात्रुलाई धम्की दिन्छन्- ‘ट्राफिकले सोध्यो भने टिकट अनुसारको मूल्य भन्नूहोला।’

काठमाडौं-रौतहट शिखरापुर सुमो सेवा चलाउने ड्राइभर रुपेश चौधरीले हाकाहाकी भन्छन्, ‘टिकट हामीले बाटोमा दिने हो। अगाडि नै दियो भने, ट्राफिकले यात्रुसँग माग्नसक्छ र सोध्न सक्छ। त्यसैले बाटोमा दिएर टिकटमा जति छ त्यति नै पैसा दिएको हो भन्न लगाउँछौँ।’

यता, सहायता कक्षमा कार्यरत प्रहरी हवल्दार प्रकाश मल्ल भने बढी पैसा असुलेको गुनासाे खासै नआउने बताउँछन्। यदि आएको खण्डमा कालिमाटीमा गाडी राखेर कारबाही गर्ने उनको भनाइ छ।

‘यात्रु सहायता कक्षमा बढी पैसा लिए भनेर आउँदैनन्। हामी पनि एक/एक गरी सोध्न जादैनौँ। गाडीवालाले टिकट काउन्टरमै दिँदैन। बाटोमा चेकिङमा यात्रुलाई टिकटमा भएको रकम बताउन भन्छन् अनि कसरी कारबाही गर्ने हामीले?’, उनले भने।

यातायात व्यवस्था विभागले २०८० साउन ३१ मा जारी गरेको सूचनामा पछिल्लो समय समायोजन भएको इन्धनको मूल्य अनुसार नै गाडीको वैज्ञानिक भाडदर तय भएको छ। सार्वजनिक

सवारीको प्रकार अनुसार भाडा दर कायम गरिएको यो सूचनामा यात्रुवाहक सवारीको भाडा दर ४.७० ले वृद्धि भएको उल्लेख छ। यो भनेको डिजेल, पेट्रोलको मूल्य अनुसार सवारी भाडा निर्धारण हुने भनेको हो।

तर, गाडीवालाले सरकारले तोकेको वैज्ञानिक भाडा लिँदै आएको देखिएन। अझ चाडपर्वमा त अचाक्ली भाडा असुलेको पाइयो। यसलाई नियन्त्रण गर्न सरकारी निकाय असक्षम र निकम्मा  भएको देखियो।

असोज १८, २०८१ शनिबार १८:३०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।