जातका कुरा : बादीहरूलाई विभेद गर्ने सवालमा, के भट्टराई के विश्वकर्मा, सबै उस्तै
बादी समुदाय, यो भन्ने बित्तिकै धेरैको मनमा झट्ट आउन सक्ने सोच हो देहव्यापार गर्ने समुदाय। पुष्प बादी, डिक्रा बादी, सरिता बादी अनि हिक्मत बादी लगायत तर, कमैको मनमामात्र आउँछन्। पुष्पले बादी समुदायकै पहिलो मेयर बनेर इतिहास रचे, बादी समुदायकै पहिलो मोडेल हुन् सरिता, डिक्राको स्वरमा गुन्जिएका देउडा लोकप्रिय छन्।
अनि हिम्मतवाला हिक्मतको त चर्चा गर्ने बाँकी छ। हिक्मत अर्थात् बादी समुदायलाई देह व्यापारीको पर्यायको रूपमा चित्रित गर्न खोजिरहेको समाजविरुद्ध निरन्तर लडिरहेका सङ्घर्षरत योद्धा।
हिक्मतलाई सङ्घर्षरत योद्धा भन्नुपर्ने कारण हो ०७७ फागुन ९ देखि १७ दिनसम्म चलेको 'बादी आन्दोलन'लाई एक्लै दिएको नेतृत्व। एक्लै यस मानेमा कि, उनको नेतृत्वमा भएको आन्दोलनलाई दलित समुदायले अपनत्व नै लिएन। फगत, बादी समुदायको आन्दोलन भन्यो, दलित आन्दोलनसँग कहिल्यै जोडिएन।
त्यो आन्दोलनमा बादीबाहेकका दलितहरूको उपस्थिति भएन अनि बादी आन्दोलन मात्र जस्तो देखियो। जबकि त्यो ऐतिहासिक दलित आन्दोलन थियो। त्यतिमात्रै हैन, ०६२/६३ मा उमा बादीको नेतृत्वमा काठमाडौँमा भएको आन्दोलनलाईसमेत दलित नेतृत्वले आफ्नो आन्दोलनको रूपमा स्वीकार गरेको छैन भन्दै गर्दा हिक्मत अलि निराश सुनिए।
'मैले दलित अभियन्ता खगेन्द्र सुनारभन्दा अगाडि १७ दिने आन्दोलन गरेँ, कर्णालीमा। तर, दलित नेताहरूले त्यसलाई दलित आन्दोलन नै स्विकार्नुहुन्न। जबकि मैले गरिसकेपछि खगेन्द्रजीले गरेको आन्दोलनलाई चैँ दलित आन्दोलन भन्छन्। मेरो नेतृत्वमा एक हजार बढी बादी दाजुभाइ-दिदीबहिनीहरू सहभागी भएको त्यो आन्दोलन चैँ आन्दोलन नहुने अनि त्यसपछि खगेन्द्रजीको नेतृत्वमा भएको ४/५ दिने आन्दोलन चैँ दलित आन्दोलन हुने? त्यसो भए के बादीहरू दलित होइनन् त?, उनले सोधे।
त्यही बेलादेखि हिक्मतले भन्न थाले, 'बादीहरू दलित होइनन्।'
न जङ्गलमा पहुँच, न शिक्षामा पहुँच, न जलमा पहुँच न त जमिनमा नै पहुँच। यस्तो समुदायले कोरोनाकालमा कसरी जीविकोपार्जन गर्यो होला? प्रश्न जति सामान्य देखिन्छ अवस्था त्यति सामान्य थिएन। त्यसबेला खेती हुनेले गाउँ फर्केर खेतीपाती गरेर खाए तर, जमिनको नाममा एक टुक्रा पनि नभएको बादी समुदायले के ब्यहोर्नुपर्यो?
हिक्मतकै शब्दमा, 'हामी जमिन नहुने बादी समुदाय भोकले छटपटियौँ। मेरै आँखाअगाडि भोकले तीन जना बादी समुदायका मान्छे मरे। त्यो पीडाबाट गुज्रिएपछि हामीले खेती किसानीका लागि सरकारसँग जमिन माग्ने निर्णयमा पुगेर आन्दोलन गर्यौँ।'
बादी समुदायको उल्लेख्य सहभागितामा हिक्मतको नेतृत्वमा कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय, सुर्खेतमा 'खेतीयोग्य जमिन देऊ, खेती गरेर खान्छौँ' आन्दोलन सुरु भयो। तर दुःखलाग्दो कुरा, अरू दलितहरूले साथै दिएनन्। बादी समुदायको आन्दोलन भनेको दलित समुदायको हैन जस्तो गरे उनीहरूले, यस्तै तितो अनुभव गरे हिक्मतले।
अन्ततः १७ दिन चलेपछि कर्णाली प्रदेशसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेसँगै त्यो आन्दोलन टुङ्गियो। सहमतिमा मूलतः बादी समुदायलाई जमिन उपलब्ध गराइदिन प्रदेश सरकार, मन्त्रिपरिषद्बाट निर्णय गरी नेपाल सरकारलाई अनुरोध गर्ने र यसका लागि आवश्यक समन्वय गर्ने उल्लेख भयो।
त्यसका अलावा कर्णाली प्रदेशमा रहेका बादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र यथार्थपरक प्रतिवेदन पेस गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने भनिएको छ। कर्णालीका बादी समुदायको विकास र उत्थानका लागि प्रतिवेदन पेस गर्न गठित त्यस कार्यदलको पछि जारी प्रतिवेदनमा कार्यदलको प्रतिवेदनमासमेत भनिएको छ कि, 'दलित समुदायभित्रै बादी समुदायलाई छुवाछूतको व्यवहार गरिने कारण जातका आधारमा हुने विभेदमा बादी समुदाय जातीय विभेदको दोहोरो मारमा परिरहेका छन्।'
OOO
दैलेखको डुंगेश्वरमा जन्मिएका हिक्मतले स्थानीय महादेव स्कुलमा ३ कक्षासम्म पढे। त्यसपछि नेपाल राष्ट्रिय माविमा ८ कक्षासम्महुँदै अछामको विन्द्रासैनी माविबाट एसएलसी दिए। त्यति बेलासम्म बादी समुदायका धेरैले पढाइ छोडिसकेका थिए।
आठ कक्षासम्म आइपुग्दा स्कुलमा उनी बादी समुदायका एक्ला विद्यार्थी भए। तर, हिक्मतले भने जसोतसो पढाइलाई अघि लगिरहे। प्लस टु विजया माविबाट सकेका उनले दुल्लुको द्रोणाचल बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन सुरु गरे तर, पूरा गर्न सकेनन्।
हिक्मतले स्कुल पढ्दै गर्दा भोग्नु परेका जातीय विभेदका थुप्रै घटनाहरूको फेहरिस्त लामै छ। स्कुलमा साथीहरू सँगै बसेर खाँदैन थिए। शिक्षकदेखि विद्यार्थीसम्मले कसैले केही बिगार्यो भने 'बादीको जस्तो ब्यहोरा नदेखाओ' भन्दा मन चसक्क हुन्थ्यो उनको।
उपल्लो जातिका साथीसँग एउटै बेन्चमा उनले कहिल्यै बस्न पाएनन्। साथीमात्र हैन, शिक्षकहरूको व्यवहार पनि उस्तै हुन्थ्यो। बादी भएकै करण उनका कापी चेक गर्न मात्रै हैन, नजिक आउन पनि ती शिक्षकहरूलाई असहज हुन्थ्यो।
हिक्मतकी आमा बस्नेतकी छोरी थिइन् अनि बुवा बादी। त्यसबेला अन्तर्जातीय विवाह गर्दा भएका कठिनाइहरू आमाले सुनाउँथिन् हिक्मतलाई। छोरा नभएको भन्दै बुवाले अर्को बिहे गरेर आफूहरूलाई बिचल्ली पारेपछि १३ वर्षको उमेरमा २८ केजीको भारी बोकेर सङ्घर्ष थालेको हिक्मत सम्झिन्छन्। त्यो बेला २५ रुपैयाँ कमाएर आमालाई दिँदा आमा निकै खुसी भएको हिक्मत अहिले पनि सम्झिन्छन्।
त्यसबेला उनी पढिरहेकै थिए। तर, बुवाले अर्को विवाह गरेपछि ५ वटा सन्तानको जिम्मेवारी उनकी आमाको काँधमा आइपुग्यो। आमाले मागेर, अरूको घरमा काम गरेर, ज्याला-मजदुरी गरेर सन्तानको लालनपालन गरिरहेकी थिइन्। तर, हिक्मतलाई यो सबै हेरेर बस्न मन नलागेपछि आफैँ काम गर्न थाले। दिदीहरूले आफू नपढेर भए पनि हिक्मतलाई पढाएका थिए।
'मेरा दिदीहरूले स्कुलै जान पाउनुभएन। १३/१४ वर्षकै उमेरमा बिहे गर्नुपर्यो, उनले सुनाए, 'यो मेरा दिदीहरूको मात्र कुरा हैन, सिङ्गो बादी समुदायका बालिकाहरूको कुरा हो। सानैमा बिहे गर्नुपर्ने परिस्थिति छ, यदि श्रीमान्को निधन भइहाल्यो भने खानकै लागि भए पनि अर्कोसँग बिहे गर्नुपर्ने अथवा देहव्यापार गर्नुपर्ने स्थिति थियो।'
त्यही कुरा बुझेको दिनदेखि नै त्यसको विरुद्धमा आफू आजसम्म लडिरहेको भन्छन् उनी।
OOO
१४-१५ वर्ष कट्ने बित्तिकै बादी समुदायका किशोरीहरूलाई समाजले हेर्ने नजरै भिन्दै हुन्छ। अझ हिक्मतकै शब्दमा भन्दा, 'सामुदायिक विद्यालयका शिक्षकको पनि नजर फरक हुन्छ। हाम्रा किशोरीहरू जब १४ वर्ष कट्छन् अनि उनीहरूले मानसिक, श्रम र यौन शोषण भोग्नुपर्छ।'
आजको दिनसम्म पनि त्यस्तो छ र?
जबाफमा हिक्मत सुनाउँछन्, 'छ नि, शोषण भोग्ने भनेकै बादी महिलाहरूले, चाहे त्यो जुनसुकै खाले शोषण होस्।'
हिक्मतले अहिले सहाराविहीन बादी समुदायका १२६ जना बालबालिकालाई सुर्खेतमा राखेर शिक्षादीक्षा दिइरहेका छन्। तर, उनको उद्देश्य यत्ति मात्र हैन। उनले अहिले तत्कालीन रूपमा शिक्षाको पहुँचमा नभएका बालबालिकालाई शिक्षा दिएको भए पनि उनको दीर्घकालीन उद्देश्य भनेको बादी समुदायका ती बालबालिका र सिङ्गो समुदायलाई गर्वकासाथ बादी भनेर शिर ठाडो बनाएर हिँड्न सक्ने बनाउनु हो।
त्यो भनेको बादी समुदाय देह व्यापार गर्ने समुदाय हो भनेर जबरजस्त करार गर्न खोज्नेहरूलाई त्यस्तो हैन भनेर बुझाउनु र प्रमाणित गर्नु हो। त्यसैले पनि आफूसँग भएका ती बालबालिकालाई आफ्नो अस्तित्व अनि हक अधिकारबारे प्रशिक्षित गरिरहन्छन् हिक्मत। त्यति मात्र हैन, उनी सार्वजनिक मञ्चहरूमा पनि यस्तै कुरा राखिरहेका हुन्छन्।
इतिहासमा कसैले यौन व्यवसाय गरे होलान्, कसैलाई गराइयो होला अनि बहुसङ्ख्यकलाई त राज्यले नै देह व्यापार गर्न बाध्य बनाएको इतिहास छ। अब यस्तो अवस्थामा सिङ्गो समुदायलाई देह व्यापारी भन्नू न्यायोचित कसरी हुनसक्छ, यही प्रश्नको जवाफ मागिरहेका छन् हिक्मत।
तर कला र गलाको धनी बादी समुदायलाई जबरजस्त देह व्यापारी करार गर्न आज पनि समाजको एउटा तप्का लागिरहेको हिक्मतले बुझेका छन्। उनले भनेजस्तै त्यो तप्काले कहिले साहित्यको माध्यमबाट त कहिले सङ्गीत/सिनेमाको माध्यमबाट बादी समुदायलाई यौन व्यवसायी करार गर्न लागिरहेको देखिन्छ पनि। तर, हिक्मत चैँ आफू यसैको विरुद्धमा लागिरहेको र सधैँ लागिरहनेमा कटिबद्ध छन्।
गरिबीको कारणले हिजोदेखि आजसम्म बादीमात्र हैन, धेरै समुदायले यौनकर्मको बाटो सम्हाल्नुपरेको छ। यही मेसोमा हिजो केही बादी समुदायका महिलाहरूले यौनकर्म गरे होलान् तर, त्यसैको आडमा सिङ्गो समुदायलाई देह व्यापारी भन्नू कतिको जायज हो ?
के अहिले देह व्यापार कुनै जातमा मात्र अड्किएको छ र?, छैन। अनि समुदाय विशेषलाई नै किन देह व्यापारीको ट्याग?
हिक्मतकै शब्दमा , 'भ्रष्टाचारमा एउटा बाहुन लागेको छ भन्दैमा सबै बाहुन भ्रष्टाचारी भन्ने हुन्छ र? हुँदैन। त्यसैगरी एकाध बादी महिलाहरू देहव्यापारमा लागे भन्दैमा सिङ्गै समुदायलाई बहिष्करण गर्नुहुन्न भनेर बोल्न थालेको ०७७ देखि हो। सदैव बोलिरहन्छु पनि।'
OOO
विभेदको सन्दर्भमा गाउँमा भन्दा शहरमा कम विभेद हुने लाग्दो रहेछ उनलाई। स्कुलको हकमा कुरा गर्दा पनि सामुदायिक विद्यालयमा भन्दा कम विभेद निजीमा हुने भएकाले पनि बालबालिकाहरूलाई निजीमा पठनपाठन गराइरहेको उनले सुनाए।
आगामी दिनमा सुर्खेतमा आफैँ स्कुल खोल्ने उनको योजना छ। शिक्षामा पहुँचका लागि मात्र हैन, बादी बालबालिकालाई आफ्नो अस्तित्व खोज्न सक्ने बनाउने र सभ्य समाज निर्माणका लागि थालनी गर्न आफूले योजना बनाएको उनले सुनाए।
आफ्नो लागि भन्दा पनि छोराछोरीले भविष्यमा विभेद भोग्नु नपरोस् भन्नका लागि बादी समुदायले पछिल्लो समय थरै हटाउन थालेकोमा हिक्मतको चिन्ता छ। एक त बादी भन्नासाथ मान्छेको दृष्टिकोण नै बद्लिहाल्छ, दोस्रो बादी भनेपछि जताततै विभेद हुने गरेकाले पनि बादीहरूले थर हटाउन थालेको उनको बुझाई छ। तर, यो गलत हो अनि यसको विरोध गर्नुपर्ने उनले सुनाए।
'मैले मेरो संस्थाको नामै बादी राख्नुको कारण पनि बादी शब्द नराम्रो हैन है भनेर बुझाउनलाई हो। राजावादी ठिक हुने, माओवादी ठिक हुने, लोकतन्त्रवादी ठिक हुने, अदालतमा जाँदा बादी-प्रतिवादी राम्रो हुने अनि मेरो नामको पछाडि जोडिएको बादी किन नराम्रो हुने?
OOO
'मैले मेरो जीवनमा छुवाछूत भनेकै आफ्नै समुदायबाट भोगेको छु, बाल्यकालदेखिनै। त्यो भनेको म बादी भइहाले, बादी भएकैले ममाथि विभेद गर्नेहरू चाहिँ विश्वकर्मा, परियार हुन्थे, यो उहिलेको कुरा हो, जुन हिक्मतले आफ्नो जीवनमा व्यहोर्नु परेको विभेद थियो।
अनि अहिले के छ नि? जबाफमा हिक्मत भन्छन्, 'हाम्रा पढेलेखेका दलित साथीहरू अझै पनि 'हैन दाइ, आमा बुढी भइसकिन्, मान्दिनन्, छोड्दिऊँ' भन्छन्। तर, हामीसँगै बसेर खान अनि भित्र पसाउनसम्म हिम्मत गर्दैनन् ती विश्वकर्मा, परियार साथीहरू।'
किन बादीबाहेकका अन्य दलित आन्दोलनका नेतृत्वकर्ताहरूप्रति हिक्मतको मन कुँडिएको होला?
'हाम्रो दलित समुदायको समस्या भनेको एक अर्कालाई साथ नदिने प्रवृत्ति हो। मैले गरिरहेको यही काम अन्य कुनै गैर दलितले गरेको भए उसको पाउ पर्न जानेहरू हाम्रै दलितहरू हुन्थे। तर, यो बादी समुदायले गरेको भएर बादीबाहेक अरू कुनै पनि दलितले यसलाई साथ दिनु त परको कुरा, बेवास्ता नै गरिदिन्छन्। गरिरहेका छन् पनि। मैले यी बालबालिका पढाउने अभियान थाल्दादेखि अहिलेसम्म भोगेको तीतो अनुभव यही हो।'
उनको गुनासो यत्तिमै सकिँदैन। उनी थप्छन् 'गाउँका कुना कन्दराबाट, गरिबका छोराछोरीलाई सुर्खेत ल्याएर, बोर्डिङ पढाएर, लालनपालन गरेर १२६ जनाको भविष्य कोर्न लागिरहनु चानचुन कुरा हो? तर, हाम्रा दलित लिडरहरू यसलाई गर्वका साथ भन्न पनि हिचकिचाउँछन्। किनकि यसको नेतृत्व बादीले गरिरहेको छ नि त।'
बादी समुदायलाई दलित मान्ने भए समावेशी हुनुपर्यो, आन्दोलनहरू स्विकार्नुपर्यो भन्छन् हिक्मत। सबैभन्दा पिँधमा परेको बादी समुदाय आज कहाँ छ त? दलित विकास समितिमा बादी छैन, दलित आयोगमा बादी छैन, समावेशी आयोगमा बादी छैन। त्यसैले पनि बादी समुदाय माथि उक्सिन नसकेको उनको कथन छ।
विश्वकर्मा समाज भएका छन्, परियार समाज भएका छन्। के भन्या त्यो? दलित समुदाय भनेपछि सबै एक ढिक्का हुनुपर्ने हैन? यसले त कहिँनकहिँ दलितहरूभित्र पनि विभेद ल्याउने काम गरेको छ, हिक्मतलाई यस्तै लाग्छ।
असोज १८, २०८१ शुक्रबार २१:४४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।