युरोपमा हुँदै आएको अन्तर्राष्ट्रिय ओलम्पियाडको तेस्रो संस्करण नेपालमा

युरोपमा हुँदै आएको अन्तर्राष्ट्रिय ओलम्पियाडको तेस्रो संस्करण नेपालमा

गोदावरी : ललितपुरमा आजदेखि एष्ट्रोनोमी र एष्ट्रोफिजिक्ससम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड सुरू भएको छ। युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको ओलम्पियाडमा १९ देशका २१ समूहले भाग लिएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।  विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट आएका विद्यार्थी उत्साहित देखिन्छन्। 

कार्यक्रमको उद्घाटन समारोहमा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले नेपाली युवा उत्साहित भएर अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड गर्छौँ भनी लागेपछि आफू प्रेरणा दिन कार्यक्रममा आएको बताइन्। 

यस्ता कार्यक्रमले काम र अध्ययनका लागि विदेश जाने नेपालीलाई स्वदेशमै अवसर छ भनी आशा जगाउन सहयोग गर्ने उनको भनाई छ। 

अन्तर्राष्ट्रिय ओलम्पियाड सङ्घका अध्यक्ष अनिकेत सुलेले सगरमाथा र शान्तिका अग्रदूत गौतम बुद्धको जन्म देश नेपालले यस्तो कार्यक्रम गर्दा आफूहरू उत्साहित भएको बताइन्। 

आयोजक समिति नेपालका सहअध्यक्ष प्रा डा उदयराज खनालले खगोल विज्ञानका क्षेत्रमा केही नयाँ काम गर्छु भन्नेका लागि ओलम्पियाड एउटा अवसरका रुपमा रहेको बताए। यस्ता कार्यक्रमलाई निरन्तरता दिनसके नेपाल खगोल विज्ञानमा उपलब्धि हासिल गर्न सक्ने उनको दाबी छ। 

पाँच दिनसम्म चल्ने कार्यक्रममा १९ देशका २१ समूहमा विभाजित विद्यालय तहका विद्यार्थीले प्रतिभा प्रस्तुत गर्ने आयोजक समितिले जनाएको छ। 

असोज १७, २०८१ शुक्रबार २०:३८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।